बाजुरा – व्यापक जनगुनासो पछि बाजुराका मुख्य तथा ग्रामिण सडकमा चल्ने सवारी साधनको नयाँ भाडादर कायम गरिएको छ । जिप व्यवसायीले यात्रुबाट मनोमानी रुपमा भाडा असुल्ने गरेको जनगुनासो बढेपछि नयाँ भाडा दर कायम गरिएकाे हाे।
नागरिकको जनगुनासोलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बाजुराले बैठक बोलाएर नयाँ भाडादर कायम गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। यातायात व्यवस्था विभाग, नौ वटै स्थानिय तहबाट निणर्य भई अर्को निणर्य नभएसम्म जिल्ला भित्र चल्ने साना सवारी साधनहरुको नयाँ भाडादर कायम गरिएको बताइएको छ। नयाँ कायम भएको भाडा दर भोलिबाट लागू हुने छ । जसमा जिल्ला भित्रका पक्की सडकमा प्रति किलोमिटर ८ रुपैया कायम गरिएको प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताउनु भएको छ ।
त्यस्तै ग्राभेल सडकहरुमा प्रति किलोमिटर १५ रुपैया र कच्ची सडकमा प्रति किलोमिटर २२ रुपैया निर्धारण हुने गरी बैठकले निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । जिल्लामा चल्ने लामो तथा छोटो दुरीका भाडा सवारी साधनले यात्रुसंग बढि भाडा असुल्ने, दुर्ववहार गर्ने, क्षमता भन्दाबढि यात्रु राख्ने सवारी साधनलाई नियन्त्रणमा लिई कारवाही गर्न निणर्य गरिएको पनि प्रजिअ पौडेलले बताउनु भएको छ। त्यस्तै सवारी सवारी साधनले अनिवार्य रुपमा चलानी गरेर जाने, यात्रुलाई टिकट दिने र सम्बन्धी कार्य भए नभएको जिल्ला प्रहरी, ट्राफिक प्रहरी कार्यालय बाजुराले निगरानी राख्ने जनाएको छ ।
बैठकले गरेको निर्णयलाई अवज्ञा गरी क्षमता भन्दाबढि यात्रु राख्ने, बढी भाडा असुल्ने र टिकट नदिएको पाइएमा नियन्त्रणमा लिई कानुनी कारवाही गर्ने पनि बताइएको छ । त्यस्तै बैठकमा पूर्वाधार विकास कार्यालय साफेँबगरले कोल्टी मार्तडी सडक खण्डको अप्ठयारा ठाउँलाई पहिलो प्रथामिकताका साथ मर्मत सुधार गर्न आग्रह गर्ने निणर्य गरेको छ ।
कोल्टी क्षेत्रमा पर्ने स्थानिय तहलाई एक आपसमा समन्वय गरि मार्तडी कोल्टी सडक अन्य निकायसंग दोहोरो नपर्ने गरि मर्मत सुधार कार्य गर्ने निर्णय भएको पनि जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। नयाँ भाडा दर समय समयमा कायम गरिदै आएको भएपनि यसको प्रभावकारी कार्यान्वयन भने फितलो नै हुने गरेको छ। यातायात व्यावसायिहरुले आँखा छलेर, यात्रुहरुसंग जिकिर गरेर मनोमानी भाडा अश्ुल गर्ने गरेको पाइन्छ ।





