युनिकोड    राशिफल    एफएम रेडियाे                        

पहिले–पहिलेको चुनावमा दुई, चार वटा दलसँग मात्रै प्रतिस्पर्धा हुन्थ्यो । कसको ल्याकत कस्तो छ र उसलाई पछार्न कस्तो खेल खेल्नुपर्छ भन्ने पूर्वतयारी पनि तगडै हुन्थ्यो । भोट खसाल्ने अघिल्लो रात रक्सीका जर्किन, मासुभात, पैसाका बिटा, धाकधम्की र मारमुङ्ग्री चल्थ्यो । गुलिया भाषण, आश्वासन, मसालेदार घोषणापत्रजस्ता अर्को पक्षलाई पछारेर मत बटुल्ने परम्परागत यी औजार भुत्ते भैसके । मतदाता बाठा भएर पत्याउन छाडे । दल पनि धेरै थपिए । कोसँग कस्तो प्रतिस्पर्धा होला भन्ने पूर्वानुमान र त्यसैअनुसारको पूर्वतयारी गर्न पनि अन्योल हुन थाल्यो । अब के गर्ने त ?

यसैबारे छलफल गर्न पार्टीका नेताहरू जम्मा भए । पार्टीका अध्यक्षले जुँगा मुसार्दै भने, ‘अस्तिताका भएको हाम्रो सभा र जुलुसमा त्यति धेरै मान्छे आएजस्तै लागेको थिएन, फोटोमा त्यति धेरै कसरी देखिए हँ ?’

‘एआईको कमाल हजुर, फोटोमा खाली ठाउँ देखियो अनि तन्काएर भरिदिएको ।’

‘गज्जब गर्नुभयो, अब चुनावमा पनि यसै गर्नुपर्छ’, अध्यक्ष मुस्कुराए ।

सबैले टाउको हल्लाए । एउटा युवा कार्यकर्ता जसलाई सबैले साइबर गुरु भनेर बोलाउँथे । विरोधीले साइबर सेना भन्ने गरेको साइबर गुरु उत्साहित हुँदै उफ्रियो, ‘हो नेता जी, सही भन्नुभयो । अब जमाना एआईको हो । एआईले हाम्रा लागि नक्कली र्‍यालीको भिडियो बनाइदिन्छ । हजारौं मानिसहरू हाम्रो समर्थनमा नारा लगाउँदै गरेको देखाउँछ ।’

‘अनि एआईबाट हाम्रो पक्षमा भोट खसाउन पनि मिल्छ ?’, नेताले सोधे ।

‘जति पनि मिल्छ हजुर । भोट खसाउन र भोट गन्न पनि एआईलाई लगाउन सकिन्छ । एआईले मतपेटिकामा हात हाल्न र हाम्रो भोटलाई मल्टिप्लाई गरेर देखाउँछ । जस्तो कि १०० भोट आयो भने एआईले १००० बनाइदिन्छ ।’

बैठकमा हाँसोको फोहोरा छुट्यो । एउटा पुरानो कार्यकर्ता, जो चुनावमा धाँधली गरेर जित्ने गर्थ्याे, उसले टाउको कन्याउँदै सोध्यो, ‘यो एआई भनेको के हो ? हामी त रक्सीका ग्यालिन र कुखुराको भाले झुण्ड्याएर रात साँझमा मतदाताको घरमा पुग्थ्यौँ । उस्तै परे मतपेटिका नै चोरेर खोलातिर लान्थ्यौँ, एकछापे ठोकेर आफैँ अबीरजात्रा गर्थ्याैँ, धम्क्याउँथ्यौँ र कुट्थ्यौँ पनि । एआईले पनि हामीले जस्तै जाँड–रक्सी र मासुभात खुवाउन, धम्क्याउन र कुट्न सक्छ ? मतपेटिका चोर्न सक्छ ?’

‘नेताजी दिमागबाट पुराना कुरा झिकिदिनुस् क्या । अब के बुझ्नुहोस् भने एआईले नक्कली भोटर आईडी बनाइदिन्छ लाखौंको सङ्ख्यामा । चुनावको दिन उनीहरूले भर्चुअल रूपमा भोट हाल्छन् ।’

नेताजीले मुस्कुराउँदै भने, ‘सही हो । एआईबाट विपक्षी उम्मेदवारको भिडियो बनाऔँ, जसमा ऊ भन्छ, ‘मलाई भोट नदिनुहोस्, म भ्रष्ट छु ।’ अनि हाम्रो चाहिँ सुपरहिरो खालको फोटो बनाउने–काम गरिरहेको, नागरिकको सेवा गरिरहेको । अनि एआईले काउन्टिङ मेशिन ह्याक गरेर हाम्रो भोटलाई इनफिनिटी मोड अर्थात् सङ्ख्या बढिरहने ढाँचामा राखिदिन्छ । जति गन्दा पनि हाम्रो बढ्छ ।’

पार्टीका अर्थशास्त्री नेताले मोबाइलको क्यालकुलेटर थिच्दै भन्यो, ‘एकपटक जितेपछि, हामी एआईलाई नै सरकार चलाउन लगाउँछौँ । एआईले बजेट बनाउँछ जसमा सबै पैसा हाम्रो पकेटमा जान्छ । नागरिकले सोधे भने एआईले नै भनिदिन्छ, ‘यो त विकास हो ।’

बैठकमा उत्साह बढ्दै गयो । यसैबीचमा एक कार्यकर्ताले आशङ्का गरे, ‘यदि एआईले सबै दलका लागि यस्तै गर्‍याे भने नि ? सबैले आफ्नो भोट बढाउँछन् । मतदाताको सङ्ख्याभन्दा धेरै भोट खस्छ । अनि फेरि चुनाव दोहोर्‍याउनुपर्ने हुन सक्छ ।’

अर्को नेताले अर्को आशङ्का गरे, ‘असली मतपेटिकाभित्रको मत चाहिँ एआईबाट कसरी बढाउने ? मतपेटिका त डिजिटल होइन, टिन या प्लास्टिकको बाकस हो ।’

साइबर गुरुले हाँस्दै भन्यो, ‘नेताजी एआईलाई कमजोर नठान्नुहोस् । हामी मतपेटिका खोल्ने बेला एआईको नानो रोबोट प्रयोग गर्छाैँ । ससाना रोबोटहरू जुन आँखाले देखिँदैनन्, ती रोबोटहरू मतपेटिकाभित्र पस्छन् र विपक्षीको मतपत्रलाई हाम्रोमा कपी पेस्ट गर्छन् ।’

पुरानो कार्यकर्ता आश्चर्यचकित हुँदै भने, ‘वाह ! हाम्रो पालामा त हामी मतपेटिका बोकेर भाग्थ्यौँ अनि खोलाको किनारमा लुकेर भित्र मत हाल्थ्यौँ । अब एआईका रोबोटले नै घरमै बसेर काम गर्छ ।’

अर्को कार्यकर्ताले टाउको कन्याउँदै भने, ‘यदि विपक्षीले पनि यस्तै एआई रोबोट प्रयोग गरे भने नि ? मतपेटिकाभित्र रोबोटहरूको लडाइँ हुन्छ । हाम्रो रोबोटले विपक्षीको मत बदल्छ । विपक्षीको रोबोटले फेरि हाम्रो बदल्छ । अन्तमा मतपेटिका खोल्दा भित्र मतपत्रको सट्टा रोबोटहरूको लडाइँ देखियो भने के गर्ने ?’

नेताजीले मुस्कुराउँदै भने, ‘चिन्ता नगर्नुहोस् । हाम्रो एआई त अर्कै लेभलको हुन्छ । उसले विपक्षीको रोबोटलाई नै ह्याक गरेर हाम्रो पक्षमा लड्न लगाउँछ ।’

सबैले ताली बजाए । बैठक सकिनै लाग्दा अध्यक्षले भने, ‘सबै काम एआईले गर्ने भएपछि फेरि यस्ता बैठक बस्न पनि हामीले किन दुःख पाइरहने ? एआईलाई बैठक बस्न भन्ने । एआईलाई नै निर्णय गर्न दिने । एआईलाई नै चुनाव लड्न पठाउने र हाम्रा लागि बहुमत ल्याउन भन्ने । चुनावपछि एआईकै सहयोगमा हामी सरकारमा जाने । रेल गुडाउन र पानीजहाज चलाउन पनि एआईलाई नै भन्ने । त्यसो गरे कसो होला ?’

प्रतिक्रिया

सम्बन्धित खवर