बाजुरा / जिल्लाको पूर्वी उत्तर क्षेत्रमा रहेको जगनाथ गाउँपालिकामा बिजुली आएपछि यहाँका स्थानीयमा खुसी छाएको छ । २०७९ असोज १९ देखि २५ गतेसम्म आएको अविरल वर्षाका कारण सो पालिकामा रहेको भुवाँखोला जलविद्युतको नहर भत्किँदा यहाँका स्थानीयलाई सात महिना देखि अँध्यारोमा बस्न बाध्य थिए ।
गाउँपालिकाले सो विद्युतको क्षति भएको नहर मर्मत गरेपछि बल्ल बिजुली बलेको हो । बिजुली बन्द भएको सात महिना देखि अँध्यारोमा टुक्कीको भरमा रात काट्दै आएका यहाँका स्थानीयको घरमा सात महिनापछि पुन बत्ती बलेपछि उनीहरूमा खुसी छाएको छ ।
गाउँपालिकाको लामो प्रयासपछि बल्ल गाउँमा बत्ती बलेको जगनाथ गाउँपालिका वडा नं –५ वडा अध्यक्ष गौरी सार्कीले बताए ।
उनले भने, २०७९ साल असोज १९ देखि २५ गते लगातार परेको वर्षातका कारण आएको बाढी पहिरोलको कारण भुवाखोलाको जलविद्युतको नहर तथा पार्टपुर्जा सबै नष्ट भएका थिए । अहिले गाउँपालिकाको पहलमा ती नष्ट भएका सबै पार्टपुर्जा तथा भत्किएको नहर मर्मत भएपछि बल्ल बिजुली बलेको छ ।
बिजुली मर्मत भएपछि अब यहाँका स्थानीय २२ घण्टासम्म बत्ती बाल्न पाउने भएका छन् ।
पचास लाख वैकल्पिक ऊर्जा पाँच लाख गाउँपालिकाको र बीसलाख सुदूरपश्चिम सरकारको आर्थिक सहयोगमा बल्ल बिजुली मर्मत भएको अध्यक्ष सार्कीले बताए ।
२०७० सालमा तीन करोड लागतमा निर्माण भएको भुवाँखोला लघु जलविद्युत २०७९ असोजमा १९ गते आएको अविरल वर्षातका कारण बाढीपहिरोले बगाएपछि बन्द भएको थियो ।
एक सय किलोवाटको जलविद्युतबाट जगनाथ गाउँपालिकाका झण्डै एक हजारभन्दा बढी घरपरिवार लाभान्वित भएका छन् । यतिबेला गाउँपालिकाको पहलमा वैकल्पिक ऊर्जा सुदूरपश्चिम सरकार को आर्थिक लगानीमा २०८० जेठ २२ गते पुन बिजुली बलेको जगनाथ गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले बताए ।
उनले भने, अँध्यारोमा बस्दै आएका दुर्गम गाउँ बस्नीका स्थानीयको घरमा उज्यालो पार्ने गरी विभिन्न ठाउँमा पहल गर्दै गएपछि बल्ल यती बेला स्थानीयको घरघरमा बत्ती बल्न थालेको हो ।
बत्ती नहुँदा यहाँका सरकारी तथा गैरसरकारी कार्यालयले स्थानीयलाई विद्युतीय सेवा दिन निकै असहज भएको थियो ।
बिजुली, शिक्षा, स्वास्थ्य र कृषिले नै यहाँका स्थानीयको जीवनमा परिवर्तन हुने भएकोले गाउँपालिकाले पनि यी विषयमा बढी प्राथमिकता दिँदै आएको जगनाथ गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले बताए ।





