खलिया समाज बाजुराले विभिन्न माग राख्दै भूमि ब्यवस्था तथा सहकारी मन्त्रालयमा ज्ञापन पत्र पेश गरेको छ । आज खलिया समाज बाजुराका अध्यक्ष प्रतापे आउजी सहितको टोलिले मन्त्रालयमा पुगि माननीय मन्त्री रन्जिता श्रेष्ठ चौधरीलाई ज्ञापन पत्र पेश गरेको हो ।
बर्षाे देखि खलो खाने दलित बर्गका खलिया समाजलाई सरकारले उचित व्यवस्था नगरेको भन्दै तत्काल आफुहरुले राखेका माग सम्बोधनका लागि ज्ञापन पत्र बुझाएको नागरीक समाज मञ्च बाजुराका संयोजक जनेश भण्डारीले बताउनुभएको छ ।
सरकारले खलिया परिचय पत्र दिएर घरबास नभएकाहरुलाई घर र गरिखाने जमिन दिनु पर्ने जस्ता महत्वपुर्ण माग राख्दै ज्ञापन पत्र बुझाएको उहाँले बताउनुभयो । खलिया समाज बाजुराका अध्यक्ष आउजिले आफुहरुले पुर्खाै देखि साहु महाजनको काम गरेर जिविकोपार्जन गर्दै आएको पहाडी क्षेत्रको सबै जग्गाहरु बाँझो राख्दै उपलो जातिका समुदायहरु शहरमा आए पछि खलियाहरुको बिचल्ली भएको बताउनुभएको छ ।
ज्ञापन पत्र हस्तान्तरणमा नागरिक सेवा सरोकार मञ्च बाजुराका संयोजक जनेश भण्डारी, खलिया समाज बाजुराका अध्यक्ष प्रतापे आउजी, नरिलाल बिश्वकर्मा, तेज बहादुर बि.क, रुपा आउजी,गोर्ख दमाई,खम्बिर विक,रेखा कडारा सहितको टोलि ज्ञापन पत्र बुझाएका हुन । बाजुराबाट ७ दिन लगाएर सिहदरबार पुगेको टोलीले खलियाहरुका विभिन्न सवालमा माग राख्दै ज्ञापन पत्र बुझाएको नागरिक सेवा सरोकार मञ्च बाजुराका संयोजक जनेश भण्डारीले बताउनुभयो ।
यता मन्त्री चौधरीले ज्ञापन पत्र बुझ्दै खलियाका बिषयमा सरकार सम्वेदनशिल रहेको बताउनुभएको छ । सरकारले अव यसको अध्ययन गरि आवश्यक कार्यक्रम तर्जुमा गर्ने बताउनुभएको संयोजक भण्डारीले बताउनुभयो ।





