दार्चुला हिमपहिरोमा बेपत्ता भएका पाँचै जनाको शव फेला परेको छ। बुधवार डोटीको जोरायल गाउँपालिका–२ की १५ वर्षीया छिमी सोमो थापाको शव भेटिएसँगै बेपत्ता पाँचै जनाको शव भेटिएको सशस्त्र प्रहरी बलका केन्द्रीय सह–प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिए।
दार्चुलाको छाङरुमा रहेको सशस्त्र प्रहरी बल नम्बर–५० गुल्मबाट खटिएको सशस्त्र प्रहरी बलको टोलीले बेपत्ताहरूको खोजी गरिरहेकोमा बुधवार छिमीको शव फेला पारेको हो। यसअघि अन्य ४ जनाको शव फेला परेको ठाउँबाट करिब २ सय मिटर तल थापाको शव फेला परेको प्रहरीले जनाएको छ। पोस्र्टमार्टमका लागि छिमीको शव भारतको बाटो हुँदै जिल्ला अस्पताल दार्चुला आज (बिहीवार) पुग्ने प्रहरीले बताएको छ।





