बाजुरा / जिल्लाकाे बूढीगंगा नगरपालिका–२, मुस्तोलावासीले ५० वर्षपछि बल्ल गाउँमा खानेपानी पाएका छन । प्रदेश सरकारको आर्थिक सहयोगबाट सोलारले पानी तानेर गाउँमा ल्याएपछि मुस्तोलावासीले बल्ल खानेपानीको सुविधा पाएका हुन । पुस्तौँदेखि घण्टौँको बाटो हिँडेर कुवाको पानी खान बाध्य भएका मुस्तोलावासीलाई त्यो पानीले केही सहज बनाए पनि अन्य समस्या भने पुरानै रहेको मुस्तोलाका महिला बताउँछन ।
बूढीगंगा नगरपालिका–२, मुस्तोलाका ७० वर्षीया औला रावत भन्छन् “म यो गाउँमा पोइल (बिहा गरेको) आएको झन्डै ५० वर्षपछि बल्ल गाउँमा पानी आइपुग्यो ।” उनले लामो समयपछि गाउँमा पुगेको पानीले केही समस्या हल गरे पनि गाई, भैँसीलाई पानी खुवाउन, लुगाकपडा धुन र नुहाउन भने पुरानै समस्या भोग्नु परेको बताए ।
“तन्नेरी अवस्थामा कुवाको पानी ल्याउँदै गरेकी मैले बूढेसकालमा घरमै धाराको पानी भर्न पाउँदा मनमा त खुसी लागेको हो तर धारामा कहिले पानी आउँछ, कहिले आउँदैन । गाउँमा पानी पुग्यो, घरमै नुहाउन र लुगा धुनसमेत सहज हुने भयो भन्ने सोचेकी थिएँ । धारामा बिहान र बेलुकी खानका लागि मात्र पानी आउने गरेपछि कागलाई बेल पाक्यो न हर्ष न बिस्मात भनेझैँ भयो,” रावत भन्छन् ।
पचास वर्षपछि बल्ल मुस्तोलामा झन्डै एक किलोमिटर तलबाट सोलारले गाउँमा पानी तानेको छ । गाउँभन्दा माथि कतै नजिक मुहान नभएपछि सोलारले तलबाट पानी तानेर गाउँमा ल्याइएको हो तर स्थानीय राजुदेवी रावत भन्छिन्, “गाउँमा पानी आएपछि खान, नुहाउन, लुगाकपडा धुन र तरकारी खेती गर्नसमेत सहज हुने आशा गरेका थियौँ तर त्यस्तो भएन । धारामा कहिले पानी आउँछ कहिले आउँदैन । फेरि घण्टौँ हिँडेर कुवाको पानी ल्याउनुपर्छ ।”
मुस्तोलाका ३८ घरपरिवारको खानेपानीको समस्या समाधान हुने गरी प्रदेश सरकारले मुस्तोला खानेपानी निर्माण कार्यका लागि झन्डै एक करोड रुपियाँ विनियोजन गरेको मुस्तोला खानेपानी निर्माण योजनाको अध्यक्ष खडक रावतले बताए । प्रदेश सरकारको एक करोड आर्थिक सहयोगमा २०७५ साल मङ्सिरदेखि काम सुरु गरेको मुस्तोला खानेपानी निर्माणको काम २०७९ साल मङ्सिरमा सम्पन्न भएको निर्माण समितिका अध्यक्ष रावतले बताए ।





