बाजुरा / जिल्लाकाे बुढीगंगा नगरपालिकामा विवाह गर्न वडाको स्वीकृति लिनु पर्ने नीतिगत निर्णय गरिएको छ । बाल विवाहका घटना बढ्न थालेपछि पालिकाले वडातहबाटै रोकथामका लागि विवाह पूर्व नै स्वीकृति अनिवार्य गराएको हो ।
नेपाल सरकारको कानुन अनुसार २० वर्ष पुगेर मात्रै विवाह गर्नु पर्ने प्रावधान छ । तर गाउँ समाजमा अझै कलिला उमेरका बुहारीहरु भित्र्याउने र सानै उमेरमा बालबच्चा जन्माउने क्रम घटेको छैन् । बाल विवाहले विकराल रुप लिने अवस्था देखिएकोले नीतिगत रुपमा कडाइ गर्नु परेको बुढीगंगा नगरपालिका १० का अध्यक्ष दलबहादुर साउँदले बताएका छन् ।
साउँदले वडा कार्यालयबाट अनिवार्य स्वीकृति लिनु पर्ने सूचना नै जारी गराएका छन् । विवाह गर्नु पूर्व जो कोहीले पनि जन्मदर्ताको प्रमाण राखेर वडाबाट स्वीकृति लिनु पर्ने प्रावधान बनाएको छ । मनोमानी विहे गर्नेहरुको क्रम नरोकिएपछि वडा कार्यालयबाटै कडाइ गर्ने गरि निर्णय गरिएको अध्यक्ष साउँदले बताएका छन् ।
विवाह आफू खुसी गर्ने विषय हो, तर समाज निर्माणमा नै अवरोध हुने, समाजमा बाल विवाहले थप जटिलता उत्पन्न गराउने र भविष्य समेत अन्धकार हुने अवस्था पुगेपछि बाध्य भएर स्वीकृति लिनु पर्ने प्रावधान गरिएको हो, साउँदले भन्नु भयो ।
वडा कार्यालयले सूचना नै जारी गरेको छ । कुनै पनि व्यक्तिले अनिवार्य स्वीकृति लिनु पर्ने र नलिएको र बाल विवाह भएको प्रमाणित हुन आएमा स्वयम वडा कार्यालय नै कानुनी प्रक्रिया थाल्ने निर्णय गरेको छ । सिंगो पालिकामा नै बाल विवाह रोक्न कडाइ गर्ने अभियान सुरु गरिएको नगर प्रमुख रामबहादुर बाँनीयाले बताएका छन् ।
बाजुरामा अझै बाल विवाहहुने क्रममा कमि आएको छैन् । माध्यामिक तहको शिक्षा पुरा नगर्दै जोडि बाँधीने र उच्च शिक्षा आर्जनको बाटो नै बन्द हुने अवस्था छ । त्यसैमा कलिला आमाहरुको स्वास्थ्य र बच्चाको स्वास्थ्यमा समेत समस्या देखिएको छ । कलिलै उमेरको विवाहले अधिकांशको घरबार समेत बिच्छेद भएको र जीवन नै बर्बादीको अवस्थामा पुग्ने स्थिति छ ।
बाजुरामा ७० को दशकको तथ्याकं अनुसार करिब ७० बढी प्रतिशतले बाल विवाह गर्ने गरेका छन् । लुकाएर राख्ने र जानकारीमा नदिने हुँदा २० वर्ष पहिले नै जन्मिकएको बच्चाको जन्म दर्ता गर्न समेत समस्या छ । उनीहरुले उमेर लुकाएर वडा कार्यालयमा जन्म दर्ता गराउन आउने गरेका छन् ।
बुढीगंगा नगरपालिकाले पहिलो चरणमा १० नम्वर वडाबाट सुरु गरेको छ । १० नम्बर वडा अछाम र बाजुराको सीमा क्षेत्रमा पर्ने गरेको छ । अभियान अन्य वडामा पनि विस्तार गर्ने र बाल विवाह रोक्न शून्य सहनशिलताको नियम लागु गर्ने नगर प्रमुख रामबहादुर बाँनीयाको भनाई छ । बाजुराको हकमा बाल विवाह प्रमुख समस्या बनेको छ । नेपालको कानुनले २० वर्ष पुरा नगरि गरिने विवाहलाई मान्यता नै दिएको छैन् ।
साभार नजिक न्युज .. ।





