उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले राष्ट्रियतामाथि आक्रमण भइरहेको बताएका छन्।
शनिबारबाट काठमाडौंमा सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठनको महाधिवेशनलाई सम्बोधन गर्दै उनले सो टिप्पणी गरेका हुन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहेका मन्त्री लिङदेनले चौतर्फी रुपमा देशको राष्ट्रियतामाथि आक्रमण भइरहेको कुरा अहिले शीर्ष दलका नेताहरुले नै भन्ने गरेको पनि बताए।
‘आज चौतर्फी रुपमा हाम्रो राष्ट्रियतामाथि कुनै न कुनै प्रकारले आक्रमण भइरहेको छ भनेर राजेन्द्र लिङदेनले होइन, ठूला पार्टीका नेताहरुले भन्ने गरेका छन्’, उनले भने, ‘नेपालको निर्णायकत्व नेपालीको हातमा छैन भनेर कहिले काहीँ तपाईंले सुन्नुभएको छ। त्यो चिजप्रति खबरदारी गर्न सक्नुपर्छ। हामीले यो विद्यार्थी संगठन सशक्त रुपमा अघि बढोस् भन्ने चाहना छ।’
नेपालको निर्णायकत्व नेपालीको हातमा नभएको कुरा शीर्ष नेताहरुले बताउँदै आएको भन्दै अबको विद्यार्थी संगठनले त्यसमा खबरदारी गर्न सक्नुपर्ने पनि उनले बताए।
उनले विद्यार्थीहरु राष्ट्रिय भावना, चेतको विकास गर्ने काममा लाग्नुपर्ने बताए। उनले राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठन गुण्डा उत्पादन, हुल्लर अनुशासन हीन उत्पादन गर्ने संगठन नभइ देशभक्त उत्पादन गर्ने संगठन भएको बताए।
‘विद्यार्थीहरुमा राष्ट्रिय भावना, चेतको विकास गर्ने काममा लाग्नुपर्छ। यो गुण्डा उत्पादन, हुल्लर अनुशासन हीन उत्पादन गर्ने संगठन होइन, यो देशभक्त उत्पादन गर्ने संगठन गर्ने हो’, उनले भने, ‘यो संगठका व्यक्ति एक्लो उभिन तयार छ, देशको बारेमा कसैसँग सम्झौता गर्दैन।’
आफ्नो पार्टीले देशको बारेमा कसैसँग सम्झौता नगर्ने दाबी समेत उनले गरे।
मन्त्री लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठनको अध्यक्ष मास्टर अध्ययनरत विद्यार्थी हुनुपर्ने भन्दै संगठनको महाधिवेशन थाल्न विद्यार्थी नेताहरुलाई आग्रह गरे।
विद्यार्थी नेताहरू स्थानीय तहदेखि प्रदेश र संघमै निर्वाचन लड्ने भएपनि पार्टीले सहयोग गर्न तयार रहेको तर त्यसका लागि अहिलेदेखि नै तयारी थाल्नुपर्ने बताए।
उनले काठमाडौं केन्द्रित राजनीति गरेर मात्रै नेता नहुने जिकिर गरे।





