सोमबार सोसाइटीका अध्यक्ष शुभशंकर कंडेलद्वारा जारी प्रेस विज्ञप्तिमा सभापति लामिछानेले नेपाली आमसञ्चार क्षेत्रप्रति आधारहीन, पूर्वाग्राही र मनगढन्ते आरोप लगाउँदै दिएको धम्कीपूर्ण अभिव्यक्तिप्रति सोसाइटीले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०७९ माघ २२ गते गरेको पत्रकार सम्मेलनमा दिएको मिडिया र मिडियाकर्मी प्रति दिएको अभिव्यक्ति प्रति नेपाल मिडिया सोसाइटीको गम्भीर ध्यानाकर्षण भएको छ । पत्रकार सम्मेलनमा लामिछानेले नेपाली आमसञ्चार क्षेत्रप्रति आधारहीन, पूर्वाग्रही र मनगढन्ते आरोप लगाउँदै धम्किपूर्ण अभिव्यक्ति दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथिको गम्भीर घात हो ।’
लामिछानेले दोहारो नागरिकताका कारण पद गुमाउदा मिडियाले लेखेको समाचारप्रति पीडाको आक्रोश पोख्ने रबैयाले लामिछानेको नवोदित दलको मिडिया विरोधी रबैयालाई उदाङ्गो पारेको पनि विज्ञप्तिमार्फत भनिएको छ । साथै, जनतालाई झुक्याएर उपप्रधान तथा गृहमन्त्री बनेको व्यक्तिले जनतासमक्ष माफी माग्नुको सट्टा नेपाली मिडियाले आफ्नो पद खोसेको जस्तो आरोप लागउनुले उनको अराजनैतिक मनोदशालाई देखाएको पनि भनिएको छ ।
यस्तै, सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीहरुको नामै लिएर सार्वजनिक रूपमा धम्की दिँदै विद्यमान संविधान, ऐन र कानुनलाई हातमा लिएर कथित भीडको सहारामा मिडियालाई आफैँ कारबाही गर्ने चेतावनी दिनु सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीहरु असुरक्षित हुनसक्ने स्थिति देखिएको भन्दै सोसाइटीले सम्बन्धित पक्ष र सरकारको समेत गम्भीर ध्यानाकर्षण गराएका छ ।
लामिछानेको उक्त अभिव्यक्तिबाट सिर्जित हुनसक्ने कुनै अप्रिय घटनाको स्वयं लामिछाने र उनको दल जिम्मेवार हुनु पर्ने कुरासमेत विज्ञप्तिमार्फत् स्पष्ट पारिएको छ ।







