विराटनगरको कोशी अस्पतालमा जिउँदो शिशुलाई मृत घोषणा गर्ने चिकित्सकलाई काम गर्न रोक लगाएको छ । उक्त घटनाको छानबिन गर्न तीन सदस्यीय समिति बनाईएको हो ।
बुधबार विहान श्वासप्रश्वासमा समस्या भएपछि आकस्मिक कक्षमा भर्ना भएकी १९ दिने शिशुलाई अस्पतालका मेडिकल अफिसर डा. आकाश यादवले मृत घोषित गर्नुभएको थियो ।
उपचारमा लापरवाही गरेको गुनासो आएपछि अस्पतालले छानबिनका लागि बालरोग विशेषज्ञ डा. प्रविण झाको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यमा अर्का बालरोग विशेषज्ञ डा. सूर्यकान्त चौधरी र प्रशासनका कर्मचारी रामप्रसाद नेपाल हुनुहुन्छ ।
अस्पतालका सूचना अधिकारीसमेत रहेका नेपालले छानबिन नसकिएसम्म उपचारमा संलग्न डा. आकाश यादव, अहेब लक्ष्मण माझी र टीका भण्डारीलाई काममा रोक लगाइएको जानकारी दिनुभयो । बुधबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म आकस्मिक कक्षमा डा. यादव र अहेबद्वय माझी र भण्डारी ड्युटीमा हुनुहुन्थ्यो।
बुधबार विहान मोरङको जहदा गाउँपालिका–३ घर भई विराटनगर १० माइती घर बस्दै आएकी उमादेवी मुखिया र उनका श्रीमान दिपिल मुखियाले १९ दिने नवजात शिशुलाई उपचारका लागि कोसी अस्पताल ल्याउनु भएको थियो । अस्पताल पुर्याएको केही समयपछि डा. आकाश यादवको टोलीले मृत घोषित गरेको थियो ।
चिकित्सकले मृत घोषित गरेको शिशु जिउँदै रहेको पाएपछि शिशुका आफन्तले कोसी अस्पतालमा आएर उपचारमा खटिएका चिकित्सकमाथि हातपात समेत गरेका थिए ।





