
गायिका समीक्षा अधिकारीको जीवनमा संयोग यस्तो भयो, उनले चलचित्र ‘नाइँ नभन्नु ल–५’का लागि ‘फेरि कहाँ आउँछ र घुमेर यो बालापनको उमेर’ बोलको गीत गाउन पाइन् ।
कास्कीको माछापुच्छ्रे गाउँपालिकाको एक मध्यमवर्गीय कृषक परिवारमा जन्मेकी समीक्षाको बालापन बिहानीका किरणले चम्केको माछापुच्छ्रेजस्तै लालीमय र सुनौलो थियो ।
‘कहिलेकाहीँ गाउँदागाउँदै आधारात हुन्थ्यो । गीत गाउन थाले भनेँ मैले समय बितेको पत्तै पाउँदिनथेँ,’ आइतबारको भेटमा कफीको चुस्कीसँगै उनले आफ्नो केही वर्षअघिको दैनिकी सम्झिइन्, ‘आफ्नो आवाज आफैँलाई मन पथ्र्यो । गीत गाउँदा अर्कै संसारमा पुग्थेँजस्तो लाग्थ्यो ।’
उनले कक्षा ८ मा पढ्दै थिइन्, फिल्म ‘छक्कापञ्जा’को टिम उनको स्कुलमा पुगेको थियो । मिठो गीत गाउने गायिकाको रूपमा स्कुलमा उनलाई नचिन्ने कोही थिएन । फिल्म ‘छक्कापञ्जा’को टिमले पनि उनको स्वर सुन्यो, यही सम्पर्कसूत्र हुँदै उनले फिल्ममा गाउने अवसर पाएकी थिइन् । यसपछिको केही समय उनले फाट्टफुट्ट मात्रै गीत रेकर्ड गरिन् । यद्यपि उनलाई पहिलो गीत (बालापनको उमेर)ले नै चर्चाको शिखरमा पुर्यायो ।
थप गीत गाउन उनले समय कुर्नुपरेन । एक वर्ष अघिसम्म उनले दिनमा सात वटासम्म गीत रेकर्ड गर्थिन् । अनुहार उज्यालो पार्दै उनले भनिन्, ‘अहो ! त्यतिबेला त आकाशमा उडेजस्तो भइरहेको थियो ।’
मलाई अवसर दिनेलाई नै मान्छेहरू भन्दा रहेछन्– त्यस्ती बिग्रेकी केटीसँग किन काम गरेको ? त्यस्तालाई सपोर्ट गर्नुहुन्न । मसँग काममा जोडिएकाले मलाई यस्तै कुरा सुनाउनुहुन्छ ।
सानोमा उनले दिनहुँजस्तो भगवानको पूजा गर्थिन् । स्कुल बिदाको बेला कहिलेकाहीँ फुपूहरूकहाँ बस्ने गरी जाँदा आफूले पूजा गर्ने भगवानका मूर्ति उनको साथमै हुन्थ्यो । ‘मैले भगवानसँग यस्तरी नै माग्थेँ के– भगवान् ! बिन्ती छ, मलाई ठूलो सिंगर बनाइदेऊ । मेरो फ्यामिलीलाई कहिले पनि रोग नलागोस्,’ उनी भन्छिन्, ‘मेरो प्रार्थना पुग्यो के !’
गायकीमा राम्रो अवसर देखिँदै गएपछि उनले काठमाडौंमै बसेर चण्डीप्रसाद काफ्लेसँग संगीत सिक्न थालेकी थिइन्, एकाएक उनको घाँटीमा समस्या देखियो । ‘दिनमै पाँच सातवटा गीत गाएर हो कि ?’ उनी भन्छिन्, ‘मेरो घाँटीमा मासु पलाएछ । त्यतिबेला मेरा धेरै गीत छुटे ।’
केही महिनाको थेरापी र आरामपछि उनको घाँटी ठिक भयो । अहिले उनी काठमाडौंमा दिदीभेनाजुसँग बसेर चण्डीप्रसाद काफ्लेसँगै संगीत पढिरहेकी छन् । पोखरा सिमपानीमा रहेको स्पाइरल ग्यालेक्सी कलेजमा उनको कक्षा १२ को अध्ययन निरन्तर छ ।
स्कुल पढ्दा उनको स्मरण शक्ति तेज थियो । शिक्षकले घोकेर आऊ भनेको पाठ कण्ठै पार्थिन् । ‘घरमा ममीले भन्नुहुन्थ्यो– यति साह्रो नपढ, एक छिन खेल न । मैले उल्टै भन्थेँ– किन यस्तो भनेको ममी ? अचेल मलाई त्यति पढ्न मन लाग्दैन । वैशाखमा फाइनल इक्जाम छ । अझ सजिलो होला भनी मेजर इंग्लिस लिएर पढेको !’ उनले भनिन्, ‘सेल्फ स्टडी र अनलाइन कक्षाबाट परीक्षाको तयारी गरिरहेकी छु ।’
समीक्षाको गायकीको चर्चा चुलिँदो थियो । देशमा हुने महोत्सवहरूमा उनको माग बढ्दो थियो, विदेशमा रहेका नेपालीमाझ पनि कन्सर्टको अफर आइरहेको थियो । एकपटक दुबईमा गाएर आइन्, तर अन्य देशमा जान पाइनन् । त्यसपछि के भयो, जगजाहेरै छ ।
यस घटनामा उनी यति मात्र भन्छिन्, ‘म त्यस घटनामा बोल्नै चाहन्नँ, सम्झनै चाहन्नँ । त्यो उमेर नै त्यस्तै, जसले जे भने पनि ठिक लाग्ने, मेरो पक्ष लिएर नराम्रै सल्लाह दिए पनि हो जस्तो लाग्ने । जसलाई पनि विश्वास गरिने । घटनाहरू र मान्छेका अनेक प्रतिक्रियाबाट अहिले धेरै सिकेँजस्तो लाग्छ ।’
यतिबेला समीक्षा आफ्नै आँट र हिम्मतले गायनमा फर्कंदै छन् । फाट्टफुट्ट गीत गाउने अवसर मिलेकै छ । ‘मेरो आवाजमा दुई–चारवटा गीत आउँदैछन्,’ उनी भन्छिन्, ‘मलाई सपोर्ट गर्नेहरूले मसँग काम गरिरहनुभएको छ । तर, मान्छेहरूबाट अनेक कुरा सुन्नुपर्दा अलि गाह्रोे भइरहेको छ । मलाई अवसर दिनेलाई नै मान्छेहरू भन्दा रहेछन्– त्यस्ती बिग्रेकी केटीसँग किन काम गरेको ? त्यस्तालाई सपोर्ट गर्नुहुन्न । मसँग काममा जोडिएकाले मलाई यस्तै कुरा सुनाउनुहुन्छ ।’
घटनापछि उनी निकै तनावमा थिइन् । अहिले पनि उनको उमेरै कत्रो छ र ! सानो उमेरमा ठूलाठूला चुनौती र समस्याका पहाड आफ्नो सामु आएझैँ उनलाई लाग्न थालेको थियो । ‘खै समय नै खराब भएर हो कि ! मेरा आफन्त भनाउँदा नै मेरो विरुद्ध उत्रिए,’ यति भनेर उनले हत्केलाले मुख छोपिन् । मनोविज्ञान भन्थ्यो– उनलाई बोल्नुछैन । बोलेर के हुन्छ र ?