नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले नयाँ सरकारसँग पार्टीले कस्तो सम्बन्ध राख्ने भन्ने विषयमा सदस्यहरूसँग राय मागेका छन् । सोमबारबाट सुरु भएको पोलिटब्युरो बैठकमा सदस्यहरूसँग सरकारसँगको सम्बन्धबारे धारणा माग गरेका हुन् ।
‘पुरानो गठबन्धन कसरी टुट्यो र नयाँ कसरी बन्यो तथा योसँग हाम्रो सम्बन्ध कस्तो हुनुपर्छ भन्ने विषयमा जिज्ञासा राख्नुभएको छ‚’ प्रवक्ता जगन्नाथ खतिवडाले भने । शनिबार र आइतबार भएको स्थायी कमिटीको बैठकले सरकारबारे स्पष्ट दृष्टिकोण निर्माण गर्न नसकेपछि पोलिटब्युरो बैठक बोलाइएको हो ।
बैठकमा सरकार, समसामयिक राजनीतिक परिस्थितिलगायत विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।
बैठकमा पूर्वप्रधानमन्त्री झलनाथ खनालले लिखित प्रस्ताव राखेका थिए‚ जसमा वामपन्थी दलहरूको कार्यगत एकता भए मात्रै सरकारमा जान सकिने उल्लेख गरिएको छ ।
उनले पुष्पकमल दाहालको नेतृत्वमा बनेको नयाँ सरकारलाई खिचडी सरकारको संज्ञा दिएका छन् । उक्त प्रतिवेदनमा राजावादी राप्रपादेखि रहस्यमयी दल राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीसम्म सरकारमा रहेको उल्लेख छ ।





