मुसहर टोल (धनपालथान) / विराटनगरबाट १८ किलोमिटर दक्षिण पश्चिममा पर्ने धनपालथान गाउँपालिका–७ मुसहर टोलका रामधारी ऋषिदेव र उनका छिमेकी लखन ऋषिदेव मुसहरसहितका स्थानीय धेरै जसो समय अरूको खेतमा काम गर्छन् । २६ भदौ २०७९ दिउँसो रामधारी ऋषिदेव खेतमा पटुवा पकाउन (पानीमा डुबाउन) बोजा (मुठा) पार्दै थिए ।
विपन्न समुदायका लागि भनेर सरकारले जनता आवास कार्यक्रम अन्तर्गत बनाइदिएको दुईकोठे घरमा धेरैजसो मुसहर परिवार बस्छन् । रामधारीका दुई छोरा, तीन छोरीसहित सात जनाको परिवार छ भने लखनको ५ जनाको परिवार । आफ्नो खेतबारी नभएका उनीहरूलाई दुई छाक टार्न अरूको खेतबारीमा पसिना नबगाई हुन्न ।
झण्डै एक वर्ष अगाडि १९ मंसिर २०७८ को दिन यो मुसहर बस्तीमा केही नयाँ मान्छे आएका थिए । यी दुई मुसहर परिवारमा तिनले सानोतिनो भुइँचालो नै ल्याइदिए । जिल्ला अदालत मोरङबाट आएका हौं भन्ने सरकारी कर्मचारीले लखन र रामधारीका घरमा एउटा एउटा चिठी दिएर गएका थिए । चिठीमा सजिलै बुझ्ने भाषा पनि थिएन ।
चिठी पढेर, अरूलाई सोधेपछि बल्ल थाहा भयो उनीहरू माथि ‘कर नतिरेर राजस्व छली गरेको’ आरोप लागेको रहेछ । पत्रमा पन्ध्र दिनभित्र उच्च अदालत पाटन, ललितपुरमा हाजिर हुन लेखिएको थियो । रामधारीले एकछिन त विश्वास गरेनन् । तर, पनि चिठी बुझे । त्यसपछि के गर्ने, के नगर्ने सोच्नै सकेनन् ।
परिवार पाल्न दिनहुँ अर्काको खेतमा पसिना बगाइरहेका उनलाई अदालतले लेखेको चिठीमा ध्यान दिन फुर्सद पनि थिएन । तर बेलाबखत झल्यास्स त्यही सम्झना आउँथ्यो । त्यो पत्रमा राजस्व चुहावट गरेकाले प्रमाणसहित हाजिर हुन भनिएको थियो ।
यसको अर्थ के हुन्थ्यो भने रामधारी ऋषिदेव भन्ने व्यक्तिको नेपालमा भव्य कम्पनी छ । त्यसको राम्रो कारोबार छ र उसले तिर्नुपर्ने कर मात्रै ५ करोड ५३ लाख रुपैयाँ पुगेको छ । हरेक साँझ खान धौ–धौ भए पनि राजस्व अनुसन्धान विभागले उनलाई चलाएको मुद्दाको व्यहोरा यही हो ।
त्यस दिन रामधारीका छिमेकी लखन ऋषिदेव मुसहर चाहिं काम खोज्न घरदेखि टाढा पुगेका रहेछन् । त्यसैले पत्र बुझ्ने काम श्रीमती बुधनीले गरिन् । अदालतको टोलीले बुधनीलाई पत्र थमाएर गयो । पत्रमा लखन ऋषिदेव मुसहरलाई पनि १५ दिनभित्र उच्च अदालत पाटन, ललितपुरमा हाजिर हुन भनेर लेखिएको थियो । लखनलाई रामधारी भन्दा तीन गुणा बढी बिगो माग गरिएको छ । पत्र अनुसार, १५ करोड ६७ लाख रुपैयाँ राजस्व छलेको विषयमा बयान दिन अदालतमा उपस्थित हुन भनिएको थियो ।
त्यसयता लखन केही सोच्न छाडेका छन् । अर्काको खेतबारी खनेर जीविका चलाउनेलाई १५ करोडको मुद्दा, यो के भएको ? २८ भदौ २०७९ मा लखनले अनलाइनखबरसँग भने, ‘म अनपढ मान्छे, यो के भएको हो, मलाई थाहा छैन ।’
१५ दिनको म्याद, नौ महिना नाघ्यो
दिनहुँ खेतबारीमा कठोर शारीरिक श्रम नगरे घरको चुल्हो नबल्ने यी मुसहरद्वयका घरको शान्ति बिथोल्ने यी दुई पत्रको गुह्य पत्ता लगाउन एक वर्षअघि काठमाडौंमा राजस्व अनुसन्धान विभागले निकालेको एउटा प्रेस विज्ञप्ति थाहा पाउनुपर्छ ।
१७ कात्तिक २०७८ मा राजस्व अनुसन्धान विभागले महत्वका साथ एउटा विज्ञप्ति जारी गरेको थियो । मुलुकका १७ वटा विभिन्न कम्पनीले २ अर्ब ३६ करोड रुपैयाँ राजस्व छली गरेको उल्लेख गर्दै उसले उनीहरूको सूची समेत प्रकाशित गरेको थियो ।
त्यो सूचीमा मोरङका दिप इन्टरनेशनल र डिएन इन्टरनेशनल नाम गरेका कम्पनी पनि थिए । खोतल्दै जाँदा ती कम्पनीका सञ्चालकमा भेटिए मुसहरद्वय । राजस्व अनुसन्धान विभागले उनीहरूमध्ये लखन विरुद्ध १५ करोड ६७ लाख रुपैयाँ र रामधारी विरुद्ध ५ करोड ५३ लाख रुपैयाँ राजस्व छलेको अभियोग लगाएको थियो ।
विभागले यी दुई कम्पनी विरुद्ध राजस्व छलेको अभियोगमा एक दिनको फरकमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो । मुद्दा गरेपछि अदालतको टोलीले दुवैको घरमा १९ मंसीर २०७८ मा ‘१५ दिन भित्र उपस्थित हुनु’ भनेर म्याद तामेल गरेको थियो ।
करोडौंको आरोप : छैन बस चढ्ने खर्च
दैनिक अर्काको खेतमा काम नगरे घरको चुल्हो नबल्ने यी मुसहरद्वय विरुद्ध २१ करोड २० लाख रुपैयाँ राजस्व छली गरेको आरोप छ । अदालतले म्याद तामेल गरेको नौ महिना यता उनीहरू बाटो खर्च नभएर काठमाडौं जान सकेका छैनन् । ‘कुनै पनि दिन पुलिसले पक्रन्छ’ भन्ने सुन्दा उनीहरूलाई डर त लाग्छ । तर के गर्नु, बस चढ्ने खर्च छैन, फेरि काठमाडौं जाँदा–आउँदा खानु–बस्नु पनि पर्छ । त्यसैले जे होला भनेर अहिलेसम्म उनीहरू घरै बसेका छन् ।
दुई कृषि श्रमिक विरुद्ध यति ठूलो राजस्व छलीको आरोप लागेको र बस चढ्ने खर्च नभएर उनीहरू काठमाडौं नआएको थाहा पाएपछि हामीले यस सम्बन्धी कागजातहरू केलायौं । उच्च अदालत पाटनमा पेश भएको राजस्व छली सम्बन्धी मुद्दामा संलग्न दस्तावेजहरू हेर्यौं। अनि आरोपीहरूसँग कुराकानी गर्यौं।
अदालतमा पेश भएका कागजहरूबाट डिएन इन्टरनेशनल नाम गरेको कम्पनी रामधारी ऋषिदेवको नाममा दर्ता भएको देखिन्छ । त्यो कम्पनीले सामान किनेको कागजात मात्रै पेश गरेको त्यसबाहेक अरू कुनै कारोबार गरेको देखिंदैन ।
कम्पनी रजिष्ट्रारको कार्यालयमा गएर कम्पनीको अभिलेख हेर्दा रामधारीले जिल्ला प्रशासन कार्यालय, मोरङबाट निकालेको नागरिकतामा उल्लेख गरेको तीनपुस्ते विवरण बाहेक अरू केही भेटिएन । कम्पनी दर्ताका क्रममा ऋषिदेवले उल्लेख गरेको भनिएको फोन सम्पर्कविहीन छ ।
कम्पनीको स्थायी ठेगाना उल्लेख गरिएको नागार्जुन–३ चाँगुनारायणमा यो कम्पनीको कार्यालय भेटिएन । त्यसैले विस्तृत अनुसन्धान सुरु गर्नुअघि नै राजस्वले २२ फागुन २०७६ मा गोरखापत्रमा एक साताभित्र उपस्थित हुनु भनेर सूचना निकालेको रहेछ । त्यसपछि उसले प्रतिवेदन तयार गरेर ‘प्रतिवादीहरू फेला नपरेकोले बयान लिन नसकिएको’ भनेको रहेछ ।
‘परिवार पाल्न, गुजारा गर्न अरूको खेतमा काम गरिदिन्छु’ २६ भदौ दिउँसो आफ्नो घरबाट दक्षिणपट्टिको खेतमा पटुवाको बोजा (मुठा) बाँधिरहेका रामधारी ऋषिदेवले अनलाइनखबरसँग भने, ‘अदालतका मान्छेले घरमै आएर चिठी दिएको पनि एक वर्ष हुनलाग्यो । अब के हुन्छ थाहा छैन ।’
पटुवाको बोटलाई पानीमा डुबाउनु अघि मुठा बाँध्नुपर्छ । मुठा बाँधेर पानीमा कुहाएको तीन सातापछि पानीमा धोएर पटुवा र सन्ठी छुट्याइन्छ । पटुवा बजारमा बिक्री हुन्छ । सन्ठी भने घरमा दाउराको लागि प्रयोग गरिन्छ । आफूमाथि ५ करोड रुपैयाँ भन्दा धेरै राजस्व छली गरेको मुद्दा परेको थाहा पाए पनि उनले दैनिक ६०० रुपैयाँ आउने यो काम छाड्न सकेनन् । किनभने पटुवाको मुठा बनाउन छाड्ने हो भने बेलुका उनको घरमा चुल्हो बल्दैन ।





