बाजुरा—बाजुराका सामाजिक अभियान्ता हेमराज थापा नेतृत्वको टोलीले स्वास्थ्यमन्त्री डाक्टर सुधा गौतमलाई विभिन्न माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । जिल्ला अस्पताल बाजुरामा विशेषज्ञ चिकित्सक र उपकरणको अभावमा सेवा प्रवाहमा समस्या भइरहेको भन्दै मन्त्री गौतमको ध्यानाकर्षण समेत गराएका छन् ।
सोमवार थापा नेतृत्वको टोलीले मन्त्री गौतमलाई मन्त्रालयमै भेटेर जिल्ला अस्पताल बाजुरामा तत्काल विशेषज्ञ चिकित्सक, आधुनिक उपकरणसहितको व्यवस्था गरिदिन माग गरेका छन् । ज्ञापन पत्रमा हाल जिल्ला अस्पतालमा पर्याप्त विशेषज्ञ जनशक्ति, औषधि उपकरणको अभावमा याँहाका नागरिकहरुले समस्या भोगिरहेको र गुणस्तरीय स्वास्थ्य सेवा नपाएको उल्लेख गरिएको छ ।
त्यस्तै थापाले स्वास्थ्यमन्त्री गौतमलाई जिल्ला अस्पतालमा जनरल सर्जन, फिजिसियन, बालरोग विशेषज्ञ, उपकरणमा भेन्टिलेटर, फिजियोथेरापीका लागि स्पिनल ट्राक्सन मेसिन, ब्लड बैंक सेवा विस्तार तथा आवश्यक जनशक्ति र सामग्रीको व्यवस्था गर्न माग गरेका छन् । उक्त व्यवस्थासहित अस्पतालको क्षमता वृद्धि भएमा हजारौ नागरिकले समयमै उपचार पाउने भन्दै आकस्मिक अवस्थाबाट ज्यान जोगिने बताएका छन् ।
स्वास्थ्यमन्त्री गौतमले बाजुराको लागि नगर्ने भन्ने प्रश्न नै उठ्दैन गर्ने हो, मैले त्याँहाका स्थानीय सरकारसँग कुरा गरेर पठाइने बताइन् । त्यस्तै उनले जिल्ला अस्पताललाई सुधार तथा बाजुरालाई अगाडि बढाउन आफूले प्रयास गर्ने पनि प्रतिबद्धता जनाएकी छन् ।





