धनगढी/ धनगढीमा विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको छ। जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञा तोडेर प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको हो। प्रहरीले स्थिति नियन्त्रणमा लिन अहिलेसम्म ३७ सेल अश्रुग्याँस प्रहार प्रहार गरेको जनाएको छ।
उनीहरुले दोषीलाई कारबाहीको दायरमा ल्याउनुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्। बिहीबार बिहान धनगढी उपमहानगरपालिका ५ स्थित पिपलचौतारा नजिकै कालिका कन्स्ट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिंदा साइकलमा विद्यालय गइरहेकी १५ वर्षीया साउदको घटनास्थलमै मृत्यु भएको थियो।
स्थानीय प्रशासनले बिहीबार साँझ घटनास्थल आसपासको क्षेत्रमा निषेधाज्ञा लागू गर्दै शव उठाएको थियो तर स्थानीयले भने उनको शव लैजाने क्रममा समेत नाराबाजीसहित प्रदर्शन गरेका थिए। स्थिति सामान्य नभएसम्मका लागि अनिश्चितकालीन निषेधाज्ञा जारी रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए। उनले पीडित पक्षलाई छलफलका लागि बोलाइएको र छलफल जारी रहेको पनि उनले बताए।





