
कञ्चनपुर- कञ्चनपुरको महेन्द्रनगरस्थित नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालयमै विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का दुई नेताबीच कुटाकुट भएको छ।
आइतबार बसेको अखिल (क्रान्तिकारी) को बैठकका क्रममा भीमदत्त नगर कमिटी सदस्य भुवन सिंह विष्टले सुदूरपश्चिम प्रदेश इन्चार्ज रामचन्द्र भट्टमाथि मरणासन्न हुनेगरी कुटपिट गरेका हुन्। झडपमा दुवै जना घाइते भएका छन्।
गम्भीर घाइते रामचन्द्र भट्टलाई महाकाली प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो भने थप उपचारका लागि उनलाई धनगढी पठाइएको छ। उनको टाउको र निधारमा गम्भीर चोट लागेको बताइएको छ।
कुटपिटमा संलग्न भुवन सिंह विष्टको नाकमा चोट लागेको छ। उपचारपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सागर बोहराका अनुसार एक व्यक्तिलाई नियन्त्रणमा लिइसकिएको छ र घटनासम्बन्धी विस्तृत अनुसन्धान भइरहेको छ।
यद्यपि कुटपिटको कारण स्पष्ट नखुले पनि अनुशासनहीन व्यवहार देखिएको भन्दै माओवादी केन्द्र जिल्ला समन्वय समितिले भुवन सिंह विष्टलाई साधारण सदस्यबाट निष्कासन गरेको जनाएको छ।