फोक्सोको कुनै पनि भागका कोष कोषिकाहरुमा असामान्य परिवर्तन आई अनावश्यक तथा अनियन्त्रित रुपले वृद्धि भई बन्ने गिर्खा वा लामो समयसम्म निको नहुने घाउलाई फोक्सोको क्यान्सर भनिन्छ । फोक्सोको क्यान्सरबाट विश्वभरि प्रत्येक वर्ष लाखौं मानिसहरु प्रभावित हुने गरेका छन् हाम्रो देशमा पनि फोक्सोको क्यान्सरबाट थुप्रै पुरूष तथा महिलाहरु पीडित हुने गरेको पाइएको छ ।
फोक्सोको क्यान्सर हुने प्रमुख कारणहरूः
१. धुम्रपान
२. वातावरणीय प्रदूषण
३. फोक्सोसम्बन्धी दीर्घ रोगहरु
फोक्सोको क्यान्सरमा देखिने चिन्ह र लक्षणहरूः
– खकारमा रगत देखापर्नु,
– लगातार सुख्खा खोकी लाग्नु तथा दम बढ्नु,
– छाती दुख्नु, अप्ठ्यारो हुनु,
– धेरै दिनसम्म ज्वरो आइरहनु,
– भोक नलाग्नु,
– शरीरको तौल घट्दै जानु वा दुब्लाउदै जानु,
– साधारण काम गर्दा पनि थकाइ लाग्नु, गल्नु ।
सुरूको अवस्थामा फोक्सोको क्यान्सरका प्रष्ट लक्षणहरु देखापर्दैनन् तर क्यान्सर बढ्दै जाँदा उपरोक्त लक्षणहरु देखापर्न थाल्दछन् ।
फोक्सोको क्यान्सरको निदानको लागि गरिने परीक्षणहरूः
१. एक्स–रेः साधारण एवम् विशेष प्रकारका एक्स–रे परीक्षणहरुबाट फोक्सोको क्यान्सर पत्ता लगाउन मद्दत पुग्दछ ।
२. ब्रोन्कोस्कोपीः विशेष प्रकारको नली श्वासनली र फोक्सोभित्र पसाएर परीक्षण गरी क्यान्सरको निदान गरिन्छ ।
३. सि.टी. स्क्यानः आवश्यकतानुसार फोक्सोको क्यान्सर निदान गर्न सि.टी. स्क्यान गरिन्छ ।
४. एफ.एन.ए.सीः मसिनो सुईको मद्दतले क्यान्सर प्रभावित फोक्सोको भागबाट कोष–कोषिकाहरु निकाली गरिने परीक्षण (Fine Needle Aspiration Cytology) बाट पनि क्यान्सरको निदान गर्न सकिन्छ । त्यस्तै खकारको श्वासनलीभित्रको ऱ्यालको परीक्षण (Sputum Cytology बाट पनि क्यान्सर निदान गर्न सकिन्छ ।
५. बायोप्सीः फोक्सोको प्रभावित भागबाट मासुको सानो टुक्राको परीक्षण गरी क्यान्सरको निदान गरिन्छ ।
फोक्सोको क्यान्सरको उपचारः
१. शल्यक्रियाः रोग लागेको भाग वा अङ्गलाई अप्रेशन गरी निकाल्ने ।
२. रेडियोथेरापीः क्यान्सर भएका कोष–कोषिकाहरुलाई मार्न विकिरणको प्रयोग ।
३. केमोथेरापीः औषधी (Anti Cancer Drug) को प्रयोगद्वारा क्यान्सरको उपचार ।
४. प्यालिएटिभ केयरः रोगीको दुःखाइ वा अन्य असुविधाहरु कम गर्न गरिने उपचार ।
फोक्सोको क्यान्सरबाट बच्नका लागि निम्न रोकथामका उपायहरु गर्नु आवश्यक पर्दछ :
– फोक्सोको क्यान्सरको मुख्य कारण धुम्रपान भएकोले धुम्रपान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन ।
– अरुले गरेको धुम्रपानको असरले धुम्रपान नगर्ने व्यक्तिलाई पनि क्यान्सर हुन सक्ने हुँदा सार्वजनिक ठाउँहरुमा, यातायातका साधनहरूमा धुम्रपान गर्नुहुँदैन ।
– कलकारखाना लगायत सवारी साधनहरुबाट निस्कने धुँवाबाट जोगिनु पर्दछ ।
– सुरक्षित चुल्होको प्रयोग गरी धुँवाबाट बच्नु पर्दछ ।
– यसबाहेक हरेक दिनको खानामा ताजा सागपात, फलफूल समावेश गर्न सकेमा क्यान्सर लगायत अन्य धेरै रोगहरुबाट पनि बच्न सकिन्छ। (डा.ठाकुर वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका बरिष्ठ कन्सल्टेन्ट हुनुहुन्छ ।)





