बाजुरा खबर :बाजुरा/ आइतबार भएको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाजुराको सदरमुकाम मार्तडी तनावग्रस्त बन्यो। नेकपा एमाले निकट अनेरास्ववियु बाजुराले सदरमुकाम मार्तडी बजार बन्द गरेपछि तनाव दिनभरी बढ्यो। एमाले निकट विद्यार्थी नेताहरुले बजारका गल्लीहरूमा टायर बालेर योजनावद्ध आन्दोलन गरेपछि सदरमुकाम मार्तडी तनावग्रस्त बन्न पुगेको प्रहरीको दाबी छ।
अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अएडीको हत्याको विषयलाई लिएर अनेरास्ववियुले आन्दोलन चर्काएको हो। आन्दोलन चर्किदै गएपछि बाजुरा सदरमुकाममा थप १५० नेपाल प्रहरी ७० जना ससस्त्र प्रहरी र नेपाली सेना समेत परिचालन गरिएको छ।। यहाँ अस्वस्थ प्रतिस्पर्धा गर्ने उद्देश्यले दोहोरो झडप भएको प्रशासनले जनाएको छ।
विगतमा निष्पक्ष तथा स्वतन्त्र निर्वाचनको अभ्यासविपरीत धाँधली, बुथ कब्जा र फर्जी मतदान गर्ने होडबाजी हुँदै आएको बाजुरामा सुरक्षा निकायका अधिकारीले मतदानस्थको अनुगमन गरेका थिए। अनुगमनमा नेपाली सेनाको सुदूरपश्चिम पृतनापति उपरथी विजय थापा, सुदूरपश्चिम प्रदेश सचिव नारायणप्रसाद दुवाडी शर्मा, प्रहरी नायब महानिरीक्षक मोहन आचार्य, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक विश्वकुमार भट्टराईको टोलीले विभिन्न मतदानस्थलको अनुगमन गरेको थियो।
तर त्यही स्थानमा अस्वभाविक रुपमा घटना घटेको प्रशासनले बताएको छ। वैशाखका भएको स्थानीय तह निर्वाचनमा बुथ कब्जाका घटना भएपछि आयोगले पुनः मतदान गराउनुपरेको थियो। दोहोरो झडपका क्रममा थप सुरक्षाकर्मी परिचालन गर्न ढिलाई हुँदा स्थिति नियन्त्रण बाहिर गएको सुरक्षा अधिकारीले बताएका छन्।
बाजुरामा कमजोर पक्षलाई मतदानस्थलबाट लखेटेर एकलौटी मतदान गर्ने चलन गत स्थानीय निर्वाचनसम्म पनि कायमै रहेको इतिहास छ। फर्जी मत खसाल्न रोक्ने मतदान अधिकृत वा अन्य कर्मचारीलाई धम्की दिएर चुप गराउनु बाजुरामा ‘सामान्य’ मानिन्छ।
२२ जनाविरुद्ध जाहेरी
त्रिवेणी नगरपालिकामा–७ मा मंसिर ४ मा ज्यान गुमाएका चेतन ऐडीको ‘हत्या’ आरोपमा किटानी जाहेरी दर्ता भएको छ। ऐडीको हत्या आरोपमा २२ जनाविरुद्ध किटानी जाहेरी दर्ता गरिएको बाजुराका डीएसपी चतुर्भुज ओझाले बताए।





