बाजुरा : बडीमालिका नगरपालिकाले नगर स्तरिय युवा सञ्जाल गठन गर्ने भएको छ। युवा सञ्जाल गठका लागि विकासका लागि युवा सम्मेलन आजबाट सञ्चालन गरिएको छ। बडीमालिका नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा युवा सम्मेलन संचालन गरिएको हो ।
नगरपालिकाका ९ वटै वडा भित्रका युवाहरूको सहभागितामा उक्त सम्मेलन आजबाट बडीमालिका नगरपालिकाको हलमा संचालन गरिएको नगरपालिकाको कार्यालयले जनाएको छ। नगरपालिकामा रहेको युवा सञ्जाल केन्द्र सञ्चालन तथा नगरपालिकाले गर्ने विभिन्न गतिविधिका साथै सो सम्मेलनमार्फत नै युवा सञ्जाल गठन गरिने नगरपालिकाका नगर प्रभक्ता धर्मराज पाध्यायले जानकारी दिनुभयो। विकासका हरेक गतिविधिमा युवाहरुको महत्वपूर्ण भूमिका रहने तथा आजका युवा भोलिका कर्णधार भएकाले युवा सञ्जालमार्फत नगरपालिकाका युवाहरुलाई नेतृत्वमा ल्याउनु उदेश्यले विकासका लागि युवा सम्मेलनको आयोजना गरिएको अध्यक्ष पाध्यायले बताउनुभयो।
आजका युवाहरु देश विकासका हतियार भएकाले युवा सञ्जालमा आउने नेतृत्वले नगरेको विकास तथा समाजका विकृतिहरुलाइ उन्मुलन गर्ने जस्ता क्रियाकलापमा सक्रियताका साथ लाग्नु पर्ने आजबाट सुरु औपचारिक कार्यक्रमका बिच सुरु भएको यु्वा सम्मेलन कार्यक्रममा बोल्ने वक्ताहरुको भनाई थियो। दुई दिनसम्म संचालन हुने युवा सम्मेलन कार्यक्रमको आज उद्धाटन गरिएको हो । यो भोलि सम्म चल्नेछ । वडा नं ७ बाहेकका प्रत्यक वडामा युवा सञ्जालहरु गठन भइसकेकाले प्रत्यक वडाबाट तीन जना प्रतिनिधि बोलाएर नगर युवा सञ्जाल गठनकालागि पनि सम्मेलनको आयोजना गरिएको बताइएको छ।
भोलि बिहान ८ बजेबाट नेतृत्व चयन प्रक्रिया अगाडि बढ्ने बताइएको छ । उक्त युवा सम्मेलन कार्यक्रमको उद्धाटन नेकपा एमालेका केन्द्रीय सदस्य तथा अछाम जिल्ला ईन्चार्ज लाल बहादुर थापाले गर्नुभएको छ। बडीमालिका नगरपालिका नगरप्रमुख अमर बहादुर खड्काको अध्यक्षतामा सुरू भएको कार्यक्रमको सञ्चालन शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख रंगमल विकले गर्नुभएको थियो। कार्यक्रममा एमालेका नेता काँशी विक, फियान नेपालका केन्द्रिय सचिव मदनराज जैशी, प्रेस चौतारीका केन्द्रिय सदस्य बसन्त विश्वकर्मा, वडा नः २ का अध्यक्ष डम्वर महत, ७ का अध्यक्ष धर्मराज पाध्याय, ८ का अध्यक्ष चन्द्रबहादुर थापा, ९ का अध्यक्ष सुर्य किरण विक, कार्यपालिका सदस्य राजेश पायल विक, पत्रकार लगायत ९ वटै वडाका करिव ५० बढी युवाको सहभागिता रहेको थियो ।





