
बाजुरा : आमाले कुटो कोदालो गरेर हुर्काएकी त्रीवेणी नगरपालिका २ सिम्ला स्थायी घर भएकी उमेरले २० वर्षीय चन्द्रा न्यौपानेको आवाज सुनौ सुनौ लाग्ने छ । ठाडी भाका गीत बढी गाउँन रुचाउने उनको गीत गाउँने र गायीका बन्ने बच्चै देखीको धोको छ । आफु १३ वर्षकी हुँदा बुवा गुमाएकी चन्द्रा ठाडीभाका बढी गाएपनी देउडा लगायतका अन्य बिधाका गीत पनि गाउन्छन् ।
उनी आफ्नो प्रतिभा लुकाएर बसेकी छन् । उसो त यो उनको रहर होइन बाध्यता हो । प्रतिभा मात्रै लुकाएकी छैनन् । गायीका बन्ने बाल्यकाल देखीको रहर रहरमै सिमित राखेकी छन् । गायिका बन्ने मनको ठुलो धोको मनभित्रै गुम्सिनुको रहस्य के हो त ? किन लुकाउन बाध्य छन् त ?
“बुवा बस्न्या देश, न चिठी न खबर पुग्दो”
आइजाउ पुल्ती भेष अब त पाँच वर्ष भैग्या,
“बयाली सर्काले सिर्क्या रुमाल उदाई लैगो”
“बुवाका झर्काले, रात निद नाई दिन भोक नाई”
स्वर्ग वास भैसकेका स्वर्गीय बुवाको सम्झनामा आफ्नै समधुर आवाजमा ठाडी भाका सुनाउदै आफु संग भएको प्रतिभा लुकाउनुको कारण खोलिन । उनको जीवनको यथार्थता सबैलाई पिडा दिने खालको छ । उनले गीत गाउँन्छन् भन्ने कुरा समेत प्रायलाई थाहा छैन । तर उनको आवाज सुनेका जतीले भने तिम्रो कलाकारिता क्षेत्रमा राम्रो भविष्य छ भन्छन् , गायनलाइ निरन्तरता दिन सुझाव दिन्छन् । सानैदेखी गीत गाउँने र गायीका बन्ने सपना बुनेकी चन्द्राले आफ्नी आमालाई समेत म कलाकार बन्छु भनेर भनेकी छैनन् । घरको पारिवारिक अवस्थाले छाक टार्न समेत मुस्किल छ।
“आमाले कमाएको पैसाले घर खर्च चलाउन धौधौ छ, मलाई गीत गाउँनका लागि आमाले कहाँ बाट पैसा ल्याउनुहुन्छ भनेर भनेकी छैन आमालाई” उनले भनिन्, कमाउने मान्छे कोही छैनन्, बुवा हुनुहुन्न, दाई अशक्त हुनुहुन्छ, पैसा नहुँदा उपचार गर्न सकेका छैनौं, गायीका बन्ने चाहाना त छ सानैदेखीको हो, तर मैले चाहादैमा कहाँ हुन्छ ? उनले थपिन् । यदि बुवा भैदिएको भए मेरो सपना अवस्य पनि पूरा गर्नुहुन्थ्यो होला
२०७५साल श्रावण २ गते चन्द्राका बुवा स्वर्गीय महारुद्र न्यौपानेको मृत्यु भयो । उनले त्यहीँ दिनबाट बुवा मात्रै गुमाइनन्, वुवाको माया, परिवाको खुसी, आफ्नो र भाई बहिनीको उज्ज्वल भबिस्य गुमाइन्। गाउँमा उनको ६ जनाको परिवार थियो । बुवा राजनीति गर्नुहुन्थ्यो, राजनीति संगै समाजिक कार्यमा पनि संलग्न हुनुहुन्थ्यो, चन्द्राका एक दाई एक बहिनि र एक भाई छन् । उनका दाई बाथरोगले ग्रसित थिए । तत्कालीन समयमा सुखी परिवार खुसी परिवार झै थियो चन्द्राको परिवार आमाले पनि सस्थाका जागिर गर्नुहुन्थ्यो ।
चन्द्राले स्मरण गर्दै आफ्नो बाल्यकाल सुनाउदै भनिन् “जिन्दगी सधै एकनासो नहुँदो रहेछ । कुनै बेला निकै खुसी थियौं हामी, सुखी थियो हाम्रो परिवार, एक्कासि हाम्रो परिवारमाथी ठुलो बज्रपात आइलाग्यो, वर्षाको बाढी जहै हाम्रो परिवारको खुसी बगाउँन हाम्रो परिवारको सुख बगाउँन बाढी आयो, हाम्रो बुवा खोस्यो, नसोचेकै घटना घट्यो, अहिलेसम्म पनि पट्यार लाग्दैन की मान्छेको मृत्यु यसरी पनि हुन्छ भनेर हामीलाई केही नभनेर बुवा एक्कासीकी हृदयघातले सधैका लागि हामिलाई छोडेर यो संसारबाट बिदाई हुनुभयो” उनका बुवा लिन आएको काललाई उनले बाढी भनेकी हुन् ।
बुबाको मृत्यु हुँदा उनी मात्रै १३ वर्षकी थिइन् । उनका दाई २१ वर्षीय खेमराज न्यौपाने बाथरोगले ग्रसित थिए। एक पटक उपचारका लागि उनका बुवाले काठमाडौं सम्म पुर्याए। अस्पतालले केही समयका लागि औसधि दिएर फेरि आउँन भनेर घर फर्कायो।उनकी बहिनी कल्पना न्यौपाने सानै थिइन् । अहिले १० वर्षीय अर्जुन न्यौपाने पाँच वर्षको थिए। चार भाई बहिनीलाई टुहुरा बनाएर गएपछि उनको परिवारको बिचल्ली भयो । त्यसपछि चन्द्राको परिवारले सुखको सास फेर्न पाएको छैन । उनको घर परिवारमा त्यसपछि कहिँले खुसी छाएको छैन । चन्द्रा भन्छिन् “बुवाले छोडेपछि खुसी के हो थाहा छैन, चाडपर्व पनि चाडपर्व जस्तो लाग्दैनन् । मिठो मसिनो खाने नौलो लगाउने कुरा त टाढाको कुरा हो, चाडपर्वमा बुवाको यादले झन सताउन्छ, रुदै बित्छन् हरेक वर्षाका तिहारहरु”
उनका बुवा स्वर्गीय महारुद्र न्यौपानेको उनलाई गायीका बनाउने धोको थियो । मलाई गीत गाउँनुपर्छ, तिमीलाई म जसरी भएपनी गायीका बनाउन्छु, पढाई संगै गीत गाउँन नछाड, मिहिनेत गर्दै जाउ उनका बुवाले भनेको उनी सम्झिन्छन् । बुवाले भनेका यी अभिव्यक्तिले उनलाई पटकपटक पिरोलीरहन्छ, कसैले गीत गाउँ तिम्रो आवाज मिठो छ भन्दा उनी अहिले पनि बुवा सम्झिदै भकानिन्छन् । “दाईको उपचार गर्न तीन दिनपछि काठमाडौं जाने तयारी थियो ।
बुवाको पनि टाउको देखिरहने समस्या थियो, दाईको पनि उपचार गर्ने र आफ्नो पनि उपचार गर्ने गरि काठमाडौं जाने तयारी भएको तीन दिन अघि एक्कासि हृदय घाट भएर बुवाको निधन भयो, त्यसपछि दाइको पनि उपचार हुन सकेको छैन, काठमाडौं गएर उपचार गर्ने पैसा छैन, दाइले काम गर्न सक्नुहुन्न, घरमै हुनुहुन्छ, कान्छी बहिनीलाई फुपूको छोराले पढाउन लग्नुभयो, अहिले घरमा दाई, भाई आमा र म मात्रै छौँ, मैले आमालाई सघाउन्छु”
बुवाको मृत्यु पछि उनका दाईको पनि उपचार हुन सकेको छैन, बीचबीचमा बिरामी हुने र बुवा बितेपछी नियमित बिद्यालय जान नपाउदा आफ्नो र दाईको पढाई प्रभावित भएको चन्द्राले बताइन् । अहिले चन्द्रा र उनका दाई खेमराज र बहिनी कल्पना न्यौपाने कक्षा १२ मा अध्ययन गरिरहेका छन् ।आमाले सस्थाको जागिरबाट हात धुनुपर्यो, श्रीमानको मृत्यु पछि परिवारको सिङ्गो जिम्मेवारी काँधमा आएपछि जागिर उनकी आमाले पनि जागीर छोडिन । अहिले उनकी आमा गाउँमै रहेको बिद्यालयमा कार्यालय सहयोगीको काम गर्नुहुन्छ । यतिमात्रै होइन कार्यालय सहयोगीको काम संगै खेतीपाती गर्नुहुन्छ। आमाले जसो तसो बिहान बेलुका छाक टार्नका लागि काम गरिरहेकी छन् ।
आमाको कमाईले बिहान बेलुका छाक टार्नै मुस्किल थियो। चार छोराछोरीको पालनपोषण, बिद्यालय पढाउने कुरा सम्भव थिएन। तरपनी अहिले सम्म धानिरहेकी छन् । “कहिँले कापी कलम हुँदैन । कहिँले ड्रेस हुँदैन । नियमित बिद्यालय जान पाइदैन, कम्ता दुःख छैन” उनले भनिन् कक्षा १२ सम्म पढेपनि त्यसपछि पढ्न सकिने अवस्था नरहेको उनले बताइन् ।
सानै देखि गीत गाउँने धोको भएकी उनी कतैबाट सहयोग मिलेपछि गीत गाउँन्छु भन्ने आशामा छन् । बुवाको गायीका बनाउने सपना पूरा गर्नका लागि भएपनी कलाकार नै बन्ने उनको भनाई छ । “बुवा हामी माझ नरहेपनी उहाँको सपना पुरा गर्ने सोचमा छु, तर पैसा छैन, एउटा गीत रेकर्ड गर्नलाई पनि घरको आर्थिक अवस्थाले धान्दैन” उनले आफ्नो दुखेसो पोखिन् ।
चन्द्रा न्यौपाने एक प्रतिनिधि पात्र मात्रै हुन् । उनी जस्तै सुमधुर आवाज भएका कयौं नयाँ प्रतिभाहरु बाजुराका दुर्गम गाउँका कुना कन्धरामा लुकेर बसेका छन् । जुन प्रतिभाहरुको खोजी हुन सकेको छैन । आर्थिक अभावका कारणले धेरैले त आफ्ना प्रतिभाहरुलाई लुकाएर बसेका छन् । उनीहरु संग प्रतिभा छ तर पैसा छैन । बजारमा गीत रेकर्ड गराउन जोकोहीका लागि सजिलो बिषय छैन । जसका कारण स्थानीय स्तरका प्रतिभाहरु ओझेलमा छन् ।
चाहेर पनि कलाकार बन्न नसकेका कयौं छन् । बाजुरामा महोत्सवहरु सञ्चालन छुटपुट रुपमा आयोजना हुन्छन् । तर ती स्थानीय स्तरमा आयोजना हुने महोत्सवमा स्थानीय कलाकारहरुको प्रतिभा प्रस्फुट्न गर्ने बाहानामा राष्ट्रिय कलाकारहरुलाई महत्त्व दिइन्छ । नितान्त नाफा कमाउने उदेश्यले महोत्सवहरु सञ्चालन हुँदै आएका छन् । घण्टौ सम्म राष्ट्रिय कलाकारलाई समय दिने महोत्सव आयोजकरु स्थानीय कलाकारहरुलाई दुई मिनेट समय उपलब्ध गराउन आनाकानी गर्छन् ।
महोत्सवमा गीत गाउँन्छु भनेर आएका स्थानीय कलाकारहरु गीत गाउँन नपाएरै घर फर्किन्छन् । जिल्ला बाहिरको कलाकारलाई लाखौं रुपैयाँ दिएर महोत्सवमा मुख्य आकर्षक बनाउने आयोजकहरु स्थानीय कलाकारहरुलाई हौसला प्रदान गर्न एक प्रमाण पत्र समेत प्रदान गर्न सक्दैनन् ।उनको कलाकारिता क्षेत्रको रुचि र उनको सुमधुर आवाजबाट त्रविेणी नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर थापा पनि सकराथ्त्मक छन् । पालिकाको र आफ्नो व्यक्तिगत तर्फबाट सहयोग गर्न तयार। रहेको पनि नगर प्रमुख थापाले बताएका छन् ।
किनारा न्यूजबाट साभार





