युबराज बडुवाल / बाजुरा – जिल्लाकाे पुर्वी उत्तरी भेगमा रहेकाे हिमाली गाउँपालिका पहिलेकाे तुलनामा अहिले केही परिवर्तनकाे रुपमा अगाडी बढीरहेकाे गाउँपालिका प्रमुख प्रशासकीय अधीकृत राज बहादुर भण्डारीले बताएका छन् ।
पहिला नुन, चामल किन्न ६- ७ दिनसम्मको पैदलबाटाे हिडेर साँफे दिपायल बाट बोकेर यहाँका स्थानियहरु आफ्नाे जिविका चलाउँथे । खानेपानीका लागि घण्टौं टाढा जानुपर्ने अनि फाेन गर्न समेत दिनभरि हिँडेर छिमेकी जिल्ला मुगु बाजुराको कोल्टी जानुपर्ने समस्या जलन्त उदारणहरु छन् ।
माध्यमिक शिक्षाका लागि आफु जन्मेकाे गाउँ छोड्नुपर्ने हुन्थ्यो, स्वास्थ्य संस्था थिएनन् । सीमित स्रोत र साधनका हुँदा पनि स्थानीयले अहीले यस्ता समस्याबाट केही हदसम्म मुक्ति पाएका छन् । ७ वटामध्ये ४ वटा वडा कार्यालयमा सडक बाटो पुगेको छ । बिरामी पर्दा एम्बुलेन्सबाट बिरामीको उद्धार हुन्छ । प्रत्येक गाउँमा आधारभूत स्वास्थ्य सेवा सञ्चालनमा छन् । गाउँपालिका अन्तर्गत नै एसईई परीक्षा दिएर कक्षा १२ सम्म अध्ययन-अध्यापन शुरु गरेकाे प्रशासकीय अधीकृत भण्डारीले बताएका छन् ।
उनले भने मानव सूचांकको हिसाबले बाजुरा जिल्ला ७७ आैं स्थानमा पर्छ जिल्लाकाे पुछारमा रहेको हिमाली गाउँपालिकाका नागरिकलाई आर्थिक आयआर्जनसँग जोड्ने र गरिबी कुपोषणलाई न्यूनीकरण गर्नु नै गाउँपालिकाकाे मुख्य लक्ष्य रहेकाे बताएका छन् ।
खाद्य सुरक्षाका लागि २ हजार भन्दा बढी परिवारलाई वृक्षरोपण कार्यक्रम शुरु गरिएकाे अबकाे २ वर्षमा सबै स्याउ, ओखर र अन्य फलफूल फल्न शुरु हुन्छन् । त्यसका लागि गाउँपालिकामा शीतगृह भवन निर्माणकार्य शुरु भइरहेको छ । हिमाली गाउँपालिकामा धेरै जातिका जडीबुटी पाइने एवं व्यावसायिक जडीबुटी खेतीको सम्भावना रहेको हुँदा जडीबुटी र फलफूलसँग सम्बन्धित उद्योग स्थापना गर्ने क्रममा रहेकाे बताए।
प्रशोधित वस्तुहरु निर्यात गर्न औद्योगिकग्रामको शुरवात भएको छ । एक गाउँ एक स्वास्थ्य संस्था, धूलोरहित गुणस्तरयुक्त विद्यालय कार्यक्रम, कृषि पकेट क्षेत्र कार्यक्रम, माथिल्लो कर्णाली जल पर्यटनको शुरवात जस्ता कार्यक्रमकाे निति तय गरेकाे बताए ।
हाल स्थानीय तहले भोग्नुपरेका समस्या
प्राकृतिक विपद्ले धेरै बस्ती विस्थापित हुनुपरेको छ । कतिपय घरबारविहीन अवस्थामा छन् । पुनर्निर्माण प्राधिकरणसँगको समन्वयमा कतिपयको पुनर्निर्माण र बस्ती स्थानान्तरणको चरणमा छन् । विद्युतीकरण हुनसकेको छैन । जातीय छुवाछुत, छाउपडी प्रथा, बालविवाह, घरेलु हिंसा जस्ता कुसंस्कार पूर्णरूपमा अन्त्य गराउन सकिएको छैन् ।
हाम्रो स्थानीय तहमा राष्ट्रियस्तरमा चिनिने बनाउन माथिल्लो कर्णालीमा जलयात्राको शुरुआत गरेकाे हिमाली गाउँपालिकाको स्याउ र ओखरलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय ब्रान्ड बनाउने गरी ५० हजारभन्दा बढी बिरुवा रोपेकाे फल्न शुरु भइसकेको छ ।
पालिकालाई जडीबुटी अध्ययन अनुसन्धान केन्द्र, जडीबुटी प्रशोधन केन्द्रका रूपमा विकास गर्ने योजना बनाएकाे प्राकृतिक तथा धार्मिक पर्यटकीय क्षेत्रका रूपमा लावासुर मन्दिर, बुढिनन्दा क्षेत्र, बानादेव मन्दिर, धूलाचौर पिलु जलयात्रा, रानीशैन ताल, पाटन क्षेत्र यहाँ रहेका छन् ।
स्थानीय तहको स्रोत वृद्धि गर्नका लागी व्यवसाय दर्ता र नवीकरणलाई अनिवार्य गरेर राजस्वको दायरामा ल्याउने कामको शुरुआत भएको छ । जडीबुटी संकलन, बिक्री–वितरण, ओसार–पसारलाई व्यवस्थित गर्दै चोरी पैठारीमा नियन्त्रण, राजस्व संकलन गर्न वडाहरुसँग समन्वय भइरहेको भण्डारीले बताएका छन् ।





