धनगढी- दशैकालागि घरजाने यात्रुको सहज आवागमनकालागि आजदेखि देशभर रुट परमिट खुल्ला भएको छ । आज घटस्थापना देखि कोजाग्रत पूर्णिमासम्म यात्रुवाहक गाडीका लागि देशभर रुट परमिट खुला गरिएको हो । एक रुटमा चल्ने गाडी अर्को रुटमा चल्दा दुर्घटनाको जोखिम बढ्ने भएकाले आजदेखि गाडीको अनुगमन र यान्त्रिक परीक्षणमा कडाइ गरिएको छ ।
रोजगारी , व्यापार, अध्ययन लगायतको शिलशिलामा घरदेखि टाढा रहेकाहरु बडादशै मान्न घर फर्किने हुनाले दशैमा यात्रुको चाप ह्वातै बढ्ने गदृछ । यात्रुको सहजताकालागि काठमाण्डौ उपत्यकाबाट बाहिरिने गाडी परीक्षणमा कडाइ गरिएको हो । यान्त्रिक परीक्षण विना काठमाण्डौ उपत्यकाबाट बाहिरिने लामो तथा मध्यम दूरीका कुनै पनि गाडी चलाउन नपाइने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए ।
यान्त्रिक परीक्षणको व्यवस्थापन सम्बन्धित गाडीको आधिकारिक बिक्रेता, ट्राफिक प्रहरी र यातायात व्यवस्था विभाग र यातायात व्यवसायीको समन्वयमा हुनेछ । बीमा नभएका गाडी दुर्घटना भएमा क्षतिपूर्ति दिन कठिनाइ हुने तथा यान्त्रिक परीक्षण नभएका गाडी दुर्घटनामा पर्ने जोखिम रहेकाले यस्ता गाडीले रुट परमिट नपाउने पनि गृह मन्त्रालयले जनाएको छ ।





