युनिकोड    राशिफल    एफएम रेडियाे                        

काठमाण्डौं /(एजेन्सी) । विश्वमै पहिलो पटक नाकबाट दिइने कोरोना खोप आएको छ। भारत बायोटेक कम्पनीले बनाएको ‘नेजल कोराना भ्याक्सिन’ लाई कोभिड–१९ भाइरसविरुद्ध प्रयोग गर्न अनुमति प्राप्त भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

टाइम्स अफ इन्डियामा प्रकाशित खबर अनुसार हैदराबाद मुख्य कार्यालय रहेको भारत बायोटेकले बासिङटन युनिभर्सिटी स्कुल अफ मेडिसिनसँगको सहकार्यमा नाकबाट दिने कोरोना भ्याक्सिन बनाएको हो। भारत बायोटेकले यसअघि कोभ्याक्सिन नामको कोरोना खोप बनाएको थियो।

भारत बायोटेकले यो खोपको नाम ‘इन्कोभ्याक’ राखेको छ। कोभिड–१९ विरुद्धको खोप अभियानमा यो खोपलाई सामेल गरिएको छ। सुरुमा यो खोप निजी अस्पतालका प्रयोगमा ल्याइँदै छ। यो खोप लिन चाहनेले पैसा तिरेर मात्रै लगाउन पाउनेछन्। १८ वर्षमाथिकालाई यो खोप दिइँदैछ। यो खोपको एक मात्रा मात्रै दिइ पुग्ने पनि भनिएको छ।

अहिले प्रायः गरी अन्य खोप लगाएका व्यक्तिलाई बुस्टर डोजका रुपमा यो दिने तयारी गरिएको छ। भारतमा रुसमा उत्पादन भएको स्तुपनिक र भारतमै उप्पादन भएका दुई खोप कोभिशिल्ड, कोभ्याक्सिन गरी तीन वटा खोप दिइएको छ।

सिरिन्जबाट दिइने खोप भन्दा यसका धेरै फाइदा रहेको कम्पनीको भनाइ छ। यो नाकबाट शरीरभित्र पठाउने भएकाले सिरिन्ज खर्च हुँदैन। सिरिन्जको नाश कम हुने र यसबाट हुने फोहोरको उत्पादनका समेत कमी हुन्छ। छालामा घोच्नु नपर्ने भएकाले घाउ हुने सम्भावना हुँदैन। यो लगाउन स्वास्थ्यकर्मीलाई छुट्टै तालिम आवश्यक नपर्ने कम्पनीको भनाइ छ।

श्वासबाट हुने संक्रमणलाई रोक्न यो प्रभावकारी हुने दावी गरिएको छ। साथै यसले भाइरस श्वासको माध्यामबाट शरीरभित्र प्रवेश गर्ने बेलामै संक्रमण र फैलावटलाई रोक्ने दावी पनि गरिएको छ।

कोरोना भाइरस नाक, मुख, श्वास नली तथा फोक्सोबाट भित्र जाने तथा यसमा रहेका ओसिलो पदार्थमा टाँस्एिर बस्छन्। नाकबाट दिइने खोपले म्यूकोसामा प्रतिरक्षा प्रतिक्रिया उत्पन्न गरी भाइरस फैलनबाट बचाउने विज्ञको भनाइ छ। सिरिन्जको माध्यमबाट मांसपेशीमार्फत दिइने खोपलाई इन्ट्रामस्कुलर खोप भनिन्छ। नाकबाट दिइने खोपलाई इन्ट्रानेजल खोप भनिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर