युनिकोड    राशिफल    एफएम रेडियाे                        

फोक्सोको कुनै पनि भागका कोष कोषिकाहरुमा असामान्य परिवर्तन आई अनावश्यक तथा अनियन्त्रित रुपले वृद्धि भई बन्ने गिर्खा वा लामो समयसम्म निको नहुने घाउलाई फोक्सोको क्यान्सर भनिन्छ । फोक्सोको क्यान्सरबाट विश्वभरि प्रत्येक वर्ष लाखौं मानिसहरु प्रभावित हुने गरेका छन् हाम्रो देशमा पनि फोक्सोको क्यान्सरबाट थुप्रै पुरूष तथा महिलाहरु पीडित हुने गरेको पाइएको छ ।

फोक्सोको क्यान्सर हुने प्रमुख कारणहरूः

१. धुम्रपान

२. वातावरणीय प्रदूषण

३. फोक्सोसम्बन्धी दीर्घ रोगहरु

फोक्सोको क्यान्सरमा देखिने चिन्ह र लक्षणहरूः

– खकारमा रगत देखापर्नु,
– लगातार सुख्खा खोकी लाग्नु तथा दम बढ्नु,
– छाती दुख्नु, अप्ठ्यारो हुनु,
– धेरै दिनसम्म ज्वरो आइरहनु,
– भोक नलाग्नु,
– शरीरको तौल घट्दै जानु वा दुब्लाउदै जानु,
– साधारण काम गर्दा पनि थकाइ लाग्नु, गल्नु ।

सुरूको अवस्थामा फोक्सोको क्यान्सरका प्रष्ट लक्षणहरु देखापर्दैनन् तर क्यान्सर बढ्दै जाँदा उपरोक्त लक्षणहरु देखापर्न थाल्दछन् ।

फोक्सोको क्यान्सरको निदानको लागि गरिने परीक्षणहरूः

१. एक्स–रेः साधारण एवम् विशेष प्रकारका एक्स–रे परीक्षणहरुबाट फोक्सोको क्यान्सर पत्ता लगाउन मद्दत पुग्दछ ।

२. ब्रोन्कोस्कोपीः विशेष प्रकारको नली श्वासनली र फोक्सोभित्र पसाएर परीक्षण गरी क्यान्सरको निदान गरिन्छ ।

३. सि.टी. स्क्यानः आवश्यकतानुसार फोक्सोको क्यान्सर निदान गर्न सि.टी. स्क्यान गरिन्छ ।

४. एफ.एन.ए.सीः मसिनो सुईको मद्दतले क्यान्सर प्रभावित फोक्सोको भागबाट कोष–कोषिकाहरु निकाली गरिने परीक्षण (Fine Needle Aspiration Cytology) बाट पनि क्यान्सरको निदान गर्न सकिन्छ । त्यस्तै खकारको श्वासनलीभित्रको ऱ्यालको परीक्षण (Sputum Cytology बाट पनि क्यान्सर निदान गर्न सकिन्छ ।

५. बायोप्सीः फोक्सोको प्रभावित भागबाट मासुको सानो टुक्राको परीक्षण गरी क्यान्सरको निदान गरिन्छ ।

फोक्सोको क्यान्सरको उपचारः

१. शल्यक्रियाः रोग लागेको भाग वा अङ्गलाई अप्रेशन गरी निकाल्ने ।

२. रेडियोथेरापीः क्यान्सर भएका कोष–कोषिकाहरुलाई मार्न विकिरणको प्रयोग ।

३. केमोथेरापीः औषधी (Anti Cancer Drug) को प्रयोगद्वारा क्यान्सरको उपचार ।

४. प्यालिएटिभ केयरः रोगीको दुःखाइ वा अन्य असुविधाहरु कम गर्न गरिने उपचार ।

फोक्सोको क्यान्सरबाट बच्नका लागि निम्न रोकथामका उपायहरु गर्नु आवश्यक पर्दछ :

– फोक्सोको क्यान्सरको मुख्य कारण धुम्रपान भएकोले धुम्रपान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन ।
– अरुले गरेको धुम्रपानको असरले धुम्रपान नगर्ने व्यक्तिलाई पनि क्यान्सर हुन सक्ने हुँदा सार्वजनिक ठाउँहरुमा, यातायातका साधनहरूमा धुम्रपान गर्नुहुँदैन ।
– कलकारखाना लगायत सवारी साधनहरुबाट निस्कने धुँवाबाट जोगिनु पर्दछ ।
– सुरक्षित चुल्होको प्रयोग गरी धुँवाबाट बच्नु पर्दछ ।
– यसबाहेक हरेक दिनको खानामा ताजा सागपात, फलफूल समावेश गर्न सकेमा क्यान्सर लगायत अन्य धेरै रोगहरुबाट पनि बच्न सकिन्छ। (डा.ठाकुर वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका बरिष्ठ कन्सल्टेन्ट हुनुहुन्छ ।)

प्रतिक्रिया

सम्बन्धित खवर