काठमाडौं – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति काठमाडौंको १८ औँ वार्षिक साधारणसभा तथा अवार्ड विशेष धन्यवाद कार्यक्रम २०८० मंगलबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष अर्जुन थापाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष तथा वर्तमान संरक्षक एवं उपत्यका समन्वय समितिका परिकल्पनाकार समेत रहनुभएका प्राज्ञ दुर्गा रायमाझी रहनुभएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि प्रतिष्ठानका पूर्व अध्यक्ष चन्द्र शर्मा, निवर्तमान अध्यक्ष रमेश बिजी, सल्लाहकार तथा समाजसेवी पृथ्वी थकालीलगायत लोकप्रिय कलाकार, पत्रकार, समाजसेवी, अवार्डका प्रायोजकहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रम स्काई पार्टी प्यालेस सामाखुसीमा भएको थियो । अवार्ड कार्यक्रममा विभिन्न माध्यमबाट सहयोग गर्ने व्यक्तित्वहरुलाई साथै संस्थालाई सहयोग गर्ने नौवटै समितिलाई पनि सम्मान तथा धन्यवाद ज्ञापन गरिएको थियो । कार्यक्रम सञ्चालन संस्थाका सचिव रमेशबाबु थापा मगरले गर्नुभएको थियो । भने स्वागत मन्तव्य संस्थाका वरिष्ठ उपाध्यक्ष रामु खड्काले गर्नुभएको प्रतिष्ठानका सञ्चार समन्वय विभाग प्रमुख राजकुमार रायमाझीले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि रायमाझीले संस्था कसरी खोलियो, कसरी अगाडि टिकाइरहने र संस्थाको उद्देश्यको बारेमा पनि प्रष्ट्याउँदै भनाइ राख्नुभएको थियो ।





