बाजुरा—बाजुरा सदरमुकाम मार्तडी स्थित मालिका मन्दिरमा आजबाट सुरु हुने अनन्ते मेला सभ्य, मर्यादित तथा शान्तिपूर्ण वातावरणमा मनाउन बडिमालिका नगरपालिकाले सम्पूर्ण नगरबासीलाई अनुरोध गरेको छ ।
सो मेला अवधीमा मार्तडी बजार, मालिका मन्दिर तथा बाजुरा क्याम्पस आसपासको क्षेत्रमा मादक पदार्थ विक्री वितरण तथा सेवन नगर्न पनि नगरपालिकाले आग्रह गरेको छ । हिजाे एक सूचना जारी गर्दै सो सूचना विपरित कसैले मादक पदार्थ सेवन तथा विक्री वितरण गरेको पाइएमा नियमानुसार कारवाही गर्ने चेतावनी दिएको छ ।
बाजुरा जिल्लाको परम्परा र संस्कृति झलल्किने अनन्ते मेलाको अवसरमा सम्पूर्ण नगरबासीमा हार्दिक सुभकामना व्यक्त गर्दछौ, प्रमुख प्रशासकिय अधिकृत देवेन्द्र सापकोटा द्धारा हस्ताक्षरित सूचनामा भनिएको छ । बाजुरा जिल्लाको परम्परागत संस्कृतिको रुपमा रहेको अनन्ते मेला हरेक बर्षको भाद्र शुक्ल पूर्णिमाका दिन लाग्न गरेकोमा यस बर्षपनि आजबाट सुरु हुदैछ
अनन्ते मेलामा रातदिन आ–आफ्नै शैली र परम्परा झल्किने गरी देउडा खेल्ने गरिन्छ । महाभारतमा कौरवसँगको लडाईमा पाण्डवले गरेको विजय प्राप्तिको खुशीयालीमा पाण्डवका समर्थक तथा न्यायका पक्षधरले विजय मनाउने उत्सवको रूपमा यस पर्वलाई मनाउने परम्परा छ । मेला अवधिभर मागल, लाखेनाच, पाण्डवको युद्ध कौशल, युद्ध नीतिका बारेमा चर्चा गरी देउडा खेल्ने चलन रहेको ज्योतिश गोविन्दराज जोशी बताउँछन् ।
अन्यायको अन्त्य भन्ने शब्द अपभ्रंश भएर अनन्ते शब्दको उत्पति भएको किंवदन्ती छ । स्थानीय लोक संस्कृति र पहिचानस्वरुप मनाइने अनन्ते मेला जिल्लाभर धुमधामका साथ मनाइने गरिन्छ । मेलाका माध्यमबाट देउडा सांस्कृतिको जगेर्ना हुँदै आएको छ ।





