बझाङ/ खप्तडछान्ना गाउँपालिका–५ की रमिला आग्री पहिलोपटक महिनावारी हुँदादेखि नै छाउगोठमा बस्न थालेकी थिइन्। अहिले उनको मनमा घरभित्र बस्दा देउता रिसाउँछन् भन्ने गहिरो छाप बसेको छ।
बुङ्गल नगरपालिका–६ की सीता बोहराले ३९ वर्षमा पाइला टेकिन्। उनी १३ वर्षको उमेरदेखि नै महिनावारी हुन थालिन्। माइती र पोइलीघर नजिकै भएको हुँदा उनलाई सुरुको बेला महिनावारी भएकै समयजस्तो अहिले पनि भइरहन्छ । घर, वस्तुभाउ, भाँडाकुँडा तथा पुरुष मान्छेलाई अहिले पनि छुन पाइँदैन।
बस्ने, खाने, हिँड्नेदेखि पानी पँधेरा पनि छाउपडीका लागि अलग भएको उनले बताइन्। “सबैभन्दा कष्टकर समय नै महिनावारीको बेलामा हुन्छ। तर हाम्रो गाउँ ठाउँमा देउताले भनेको नमाने उल्टै आफैँमाथि दुर्घटना हुने भन्छन् र डर लाग्छ। घर नजिकै पनि जान मन लाग्दैन।”
उनले एकपटक सङ्घसंस्थाले भत्काएका छाउगोठ समाजले पुनःनिर्माण गरेको बताइन्। “पहिलेका गोठभन्दा अहिले केही त राम्रा र अलि व्यवस्थित भएका छन्। तर, मनमा भने देउताको डर कहिल्यै हराउँदैन”, उनले भनिन्। बुङ्गलमा विवाहित÷अविवाहित नभनी सबैले गोठमै बस्नुपर्ने उनले बताइन्। “हाम्रो यता जोसुकै महिला भए पनि महिनावारी हुँदा छ दिनसम्म गोठमै बस्नुपर्छ। घरमा मेरो दुई जना छोरी पनि त्यसै गोठमा बस्छिन्”, उनले भनिन्।
रमिला, हरिना र सीतामात्रै होइनन्, बझाङमा हजारौँ महिला अहिले पनि महिनावारीका बेलामा छाउगोठमै बस्छन्। स्थानीय सरकारका जनप्रतिनिधि, प्रहरी र सरोकारवालाको अगुवाइमा छाउगोठ भत्काए पनि फेरि छाउगोठ बनाएर बस्न थालेका छन्। “छाउगोठको रूपमात्रै फेरिएको छ”, महिला अधिकारकर्मी तथा अल्पकालीन महिला सेवा केन्द्रकी इन्चार्ज गीता शाहीले भनिन्, “संस्कार र सोच जहाँको त्यहीँ छ। मानसिक रूपमा चेत खुल्दैन भने गोठजन्य संरचना भत्काएर केही हुँदैन।”
उनले मुलुक सङ्घीयतामा जानुअघि पनि जिल्ला विकास समितिको नेतृत्वमा छाउपडीमुक्त अभियान चलाएको र बीचमै रोकिएको बताइन्। “सुरुमा छाउगोठ पनि भत्काइए”, उनले भनिन्, “विभिन्न सङ्घसंस्थाले चेतनामूलक कार्यक्रम गरे। जिविसले पनि धेरै गाविसमा काम गर्यो। पछि सबै निकाय सुस्ताए।
स्थानीयवासीले छाउगोठ पुनःनिर्माण गरे।” उनका अनुसार छाउगोठ भत्काउने अभियानका बेलामा केही महिलाले त त्रिपाल टाँगेर रात बिताएका थिए। उनले महिनावारी हुँदा घरभित्रै छुट्टै कोठामा बस्दै आएका महिला भने अन्धविश्वास तोडेर अघि बढेको बताइन्।





