युनिकोड    राशिफल    एफएम रेडियाे                        

काठमाडौं / रन्जित तामाङ अखिल क्रान्तिकारीका एक्ला अध्यक्ष हुन्, जसलाई विद्यार्थीहरुले चुने । बाँकी हालसम्मका सबै २१ अध्यक्षलाई पार्टीले छान्यो ।

आफूलाई प्रगतिशील, वैज्ञानिक, अग्रगामी भनिने नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठनको हालत यस्तो छ ।

अखिल क्रान्तिकारीको इतिहासमै एकपटक मात्रै निर्वाचित नेतृत्व चयन भएको छ । जबकि यस बीचमा अखिल (क्रान्तिकारी) ले २२औं राष्ट्रिय सम्मेलन गरिसकेको छ । २०७४ भदौमा भएको २१ औं सम्मेलनबाट तामाङ अध्यक्ष चुनिएका थिए ।

२०२२ सालमा जेठमा भएको महाधिवेशनलाई नेकपा एमाले र माओवादी केन्द्रको विद्यार्थी संगठनले पहिलो महाधिवेशनका रुपमा लिने गरेका छन् । उक्त मितिका आधारमा २२ वटा महाधिवेशन हुँदा २१ जनालाई अखिल (क्रान्तिकारी) ले टिकेप्रथाबाट चयन गरेको छ ।

नियमित समयमा महाधिवेशन हुँदै आएको भए अखिल (क्रान्तिकारी) ले २७औं अध्यक्ष पाइसकेको हुने थियो । मनोनीत प्रणालीले संगठनमा विकृति निम्तिएको अखिल (क्रान्तिकारी) का पूर्वअध्यक्ष हिमाल शर्मा बताउँछन् ।

२२औं राष्ट्रिय सम्मेलनबाट अखिल क्रान्तिकारीको संगठन झनै भद्रगोल अवस्थामा पुगेको छ । २०७८ असोजमा भएको २२औं राष्ट्रिय सम्मेलनले पञ्चा सिंहलाई अध्यक्ष बनायो ।

पहिलोपटक महिलालाई संगठनको नेतृत्वमा पुर्‍याउने भन्दै सिंहलाई मनोनीत गरियो । तर, सिंहलाई अध्यक्ष मनोनीत गरेपछि संगठनमा समानान्तर कमिटी बनाइयो ।

समानान्तर किमिटीको नेतृत्व पवन कार्कीले गरे । विवाद बढ्दै गएपछि दुवै कमिटी भंग गरिएको छ । माओवादी केन्द्रको स्थायी समिति बैठकले राष्ट्रिय सम्मेलन आयोजक समिति बनाउने र स्ववियु चुनावपछि राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ ।

अखिल (क्रान्तिकारी) मा अहिले देखिएको समस्या वैचारिक नभएर पदीय भएको उक्त संगठनका पूर्वअध्यक्ष शर्मा बताउँछन् । ‘अहिलेको समस्या सांगठनिक समस्या हो । वैचारिक समस्या होइन, पदीय समस्या हो,’ शर्माले अनलाइनखबरसँग भने ।

दुई पक्षको विवादले ५ चैतमा हुने स्ववियु चुनावलाई समेत असर गर्ने भएपछि पार्टीले राष्ट्रिय सम्मेलनमा जाने निर्णय लिएको हो । यसअघि दुई पक्षको विवाद अध्ययन गरी सुझाव दिन कार्यदल समेत बनाइएको थियो । उक्त कार्यदलले दिएको सुझाव प्रतिवदेनले पनि विवाद सुल्झिन सकेन ।

संगठनलाई सुदृढीकरण निर्वाचन प्रणालीबाट मात्रै हुने शर्माको जिकिर छ । संगठनभित्र देखिएको समस्या निराकरणका लागि निर्वाचनमा जानै पर्दछ । ‘राष्ट्रिय सम्मेलनबाट नेतृत्व छनोट गर्दा निर्वाचन प्रणालीबाट गर्नुपर्दछ,’ शर्माले भने, ‘मनोनीत एउटालाई गर्दा अर्को रिसाउने, उ पर्‍यो, उ परेन भन्ने विवादले समानान्तर कमिटी बनिरहेका छन् ।’

१६ महिना कार्यकाल सम्हालेकी सिंहको कार्यकालमा विवाद सिर्जना गरिएकै कारण संगठनले गति लिन सकेन । उनले बनाएको केन्द्रीय कमिटीको विरोधमा कार्की समूह उत्रिएको थियो ।

केन्द्रीय कमिटीमा राखिएका नाम विधि, पद्धति र मापदण्ड अनुसार नभएको कार्की पक्षको तर्क थियो । एकपक्षीय कमिटी भएको भन्दै उनी पक्षधरले समानान्तर अभ्यास गर्दै आएका थिए ।

कार्की महासचिव हुन चाहन्थे तर दीपेश पुनलाई महासचिव बनाएर उनलाई उपाध्यक्ष बनाइएको थियो । त्यसपछि कार्कीले असन्तुष्टि जनाउँदै पार्टी अध्यक्ष प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाए । ध्यानाकर्षण पत्र बुझाएपनि संगठनको विवाद साम्य भएन ।

कार्कीलाई वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको साथ थियो । पूर्वअध्यक्ष शर्मा पार्टी नेताहरुले आड दिँदा नै समानान्तर कमिटी बन्ने गरेको बताउँछन् ।

नेविसंघमा टिके प्रथालाई प्रश्रय

पार्टीभित्रका समूहहरुले शेर्पा नेतृत्वको तदर्थ समितिमा पर्नका लागि नाम संकलन गरिरहेका छन् । पार्टीले सूची निकाल्न सकेको छैन । तदर्थ समितिले कहिले पूर्णता पाउनेमा पार्टीका नेताहरु नै अलमलमा छन्

कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघले तेस्रो महाधिवेशनदेखि नै टिके प्रथा अभ्यास गर्दै आएको हो ।

२०३६ सालमा भएको नेविसंघको तेस्रो महाधिवेशनमा कांग्रेस संस्थापक नेता वीपी कोइरालाले विमलेन्द्र निधिलाई टिको लगाएर अध्यक्ष बनाएका थिए । त्यो क्रम आज पर्यन्त उस्तै छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेविसंघकै उत्पादन हुन् । केन्द्रीय पदाधिकारीदेखि लिएर कतिपय केन्द्रीय सदस्यको राजनीतिको जग नेविसंघ हो । संस्थापक अध्यक्ष विपीन कोइराला भने पाटीको केन्द्रीय भूमिकामा छैनन् ।

नेविसंघका उत्पादन उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोरसिंह राठोर, बद्री पाण्डे, महेन्द्र यादवसमेत हुन् । यीमध्ये महामन्त्री थापा बाहेकले नेविसंघको मूल नेतृत्व सम्हालेका थिए । नेविसंघका पूर्वअध्यक्ष बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, एनपी साउद, गोविन्द भट्टराई, कल्याण गुरुङ र प्रदीप पौडेल पार्टीको केन्द्रीय समितिमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर