पर्सा /हेल्मेटभित्र लुकाई छिपाई ल्याउँदै गरेको १८ लाख नेपाली रुपैयाँ र २ हजार भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
भारत घर बताउने २६ वर्षिय राकेश कुमार र २७ वर्षिय प्रसंजित कुमारलाइ पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नं १६ स्थित बीरगंज—रक्सौल सडकखण्डबाट बुधबार नियन्त्रणमा लिइएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया कमाण्डको टोलीले उक्त रुपैयाँसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
भातरीय नम्बर प्लेटको दुई वटा मोटरसाईकलमा नेपालतर्फ आउँदै गरेका राकेश कुमारको हेल्मेटभित्र ९ लाख र प्रसंजित कुमारको हेल्मेटभित्र ९ लाख नेपाली रुपैयाँ तथा प्रतिबन्धित ५ सय दरको ४ थान भारतीय रुपैयाँ समेत फेला परेको थियो ।
फेला पारिएको नेपाली रुपैयाँको श्रोत खुलाउन नसकेपछि उनीहरुलाई नियन्त्रणमा लिईएको हो । पक्राउ परेका दुवै जनालाई बरामद रुपैयाँ तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यायल पर्सामा बुझाइएको छ ।





