धनगढी/ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले अहिलेसम्म प्रदेश सभाबाट विश्वासको मत लिन सकेका छैनन्। नागरिक उन्मुक्ति पार्टीलाई फकाउँदै आएका मुख्यमन्त्री रावलले जिल्ला अदालत कैलालीको फरार सुचीमा रहेका प्रदेश सभा सदस्य अरुणकुमार चौधरी नै आज कारागार चलान भएपछि मुख्यमन्त्री संकटमा परेका हुन्।
मुख्यमन्त्रीमा नियुक्त भएको तीन हप्ताभन्दा बढी समय वितिसक्दा पनि रावलले विश्वासको मत लिन सकेका छैनन्। कानुनतः मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने हुन्छ। बाँकी ६ वटा प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिइसक्दा सुदूरपश्चिममा मात्र एक्ला मुख्यमन्त्री रावलले विश्वासको मत लिन नसकेका हुन्।
नागरिक उन्मुक्ति पार्टीको संसदीय दलका प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीले सरकारलाई विश्वासको मत दिने आधार तयार भइनसकेकोे बताउँदै आएका बेला अरुणकुमार चौधरी आज कारागार चलान भएपछि सुदूरपश्चिमका मुख्यमन्त्री संकटमा परेका हुन्। ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ मत आवश्यक पर्छ। माओवादीका सभामुखबाहेक १०, एमालेका १० र राप्रपाको एक गरी सत्तापक्षमा २१ मत छ।
सात सिट रहेको नागरिक उन्मुक्तिले साथ दिए मात्र सत्ता पक्षको बहुमत पुग्छ। मुख्यमन्त्री नियुक्ति तथा सभामुख र उपसभामुखको चुनावमा सत्तापक्षलाई साथ दिएर सत्तापक्षकै बेन्चमा बसिरहेको नागरिक उन्मुक्ति विश्वासको मत दिन भने सहमत भएको छैन। विश्वासको मत पाउने वातावरण निर्माणका लागि काठमाडौं पुगेका मुख्यमन्त्री रावल शीर्ष नेताहरूसँग छलफल गरेर फर्किएका छन्।





