कैलालीमा तीन स्थानीय तहमा दादुराका बिरामी फेला परेका छन्। जिल्लाको धनगढी, गोदावरी र गौरीगङ्गामा दादुरा संक्रमित बिरामी फेला परेका हुन्।
समुदायमा दादुराका नयाँ संक्रमित देखा परेपछि दादुरा अन्यत्र पनि फैलने सक्ने खतारा बढेको छ। जिल्लाको तीन ठाउँमा देखिएको संक्रमण अन्यत्र नफैलियोस् भनेर प्रभावित क्षेत्रमा सघन खोप कार्यक्रम सञ्चालन गरिने भएको छ।
‘संघीय सरकारले कैलालीमा दादुराको बिरामी पत्ता लागेको पुष्टि भएसँगै बिरामी फेला परेको स्थान र आसपासको क्षेत्रमा पनि दादुरा खोप अभियान चलाउने निर्णय गरेको छ,’ उनले भने, ’दादुरा संक्रमण हुनसक्ने उमेर समूह ६ देखि १५ वर्षको जनसंख्या पत्ता लगाएर खोप लगाउन संघीय सरकारले खोप उपलब्ध गराउने र स्वास्थ्य कार्यालय र पालिकाले खोप सञ्चालन गर्नुपर्ने छ।’
दादुराको खोप चाहिएजति उपलब्ध गराउन संघीय सरकारले तयार रहेकाले स्वास्थ्य कार्यालयले खोप लगाउने जनसंख्याको विवरण तयार गरी स्थानीय तहमा खोप पुगाउने व्यावस्थापन गर्ने भएको छ। यस्तै, स्थानीय तहका जनप्रतिनिधले खोप समुदायमा खोप लगाउनुपर्ने उमेर समूहको कोही पनि नछुटोस् भनेर खोप अभियानलाई सहयोग गर्नुपर्ने आवश्यकता परिवार कल्याण महाशाखा प्रमुख भण्डारीले औंल्याएका छन्।
‘संघले खोप आवश्यक भएजति पठाउने छ भने स्थानीय पालिकाले खोप अभियान प्रभावकारी बनाउन खट्नुपर्ने देखिन्छ,’ उनले भने, ’स्थानीय तहका जनप्रतिनिधिले खोप अभियानमा सहयोग नगर्दासम्म यसको प्रभावकारीता हुँदैन।’
कैलालीमा दादुराको खोप नलगाएको, पूरै खोप लगाउन छुटेको र पूर्ण खोप लगाएको बालबालिकामा पनि दादुरा संक्रमण पुष्टि भएको छ। बसाइसराइ गरिरहने, विपन्न, दलित र मुस्लिम समुदायमा यो पटक दादुराको संक्रमण देखा परेको छ। सामान्यतया दादुरा गराउने भाइरसको सम्पर्कमा आएको ७ देखि १४ दिनभित्र दादुराको संक्रमण देखा पर्छ। दादुरा संक्रमित हुन पुगे कडा ज्वरो आउने, खोकी लाग्ने, सिँगान बग्ने, आँखा रसाउने र शरीरमा फोका आउने हुन्छ।





