युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बडीमालिका–८ छाउपडी गोठमुक्त वडा घोषित | बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी |

काभ्रे / बालविवाह न्यूनीकरण गर्दै रोक्नेसम्मको उद्देश्यसहित काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाले हाल सडक नाटक अभियान थालेको छ ।

आइतबार स्थानीय धार्ने ज्योति माध्यमिक विद्यालय र फलामेटारस्थित बाल विकास माविमा बालविवाहविरुद्ध चेतनामूलक सडक नाटक प्रदर्शन गरियो ।

त्यसैगरी सोमबार देरालीस्थित शारदा मावि र जनहित महाँकाल माविमा आदि÷इत्यादी नामक संस्थाले बालविवाहविरुद्ध सडक नाटक प्रदर्शन ग¥यो । बालविवाहलाई न्यूनीकरण गर्न हाल गाउँपालिकाले तालिका बनाएर स्थानीय माध्यमिक विद्यालयमा एकहप्ते सडक नाटक अभियान सञ्चालन गरेको हो ।

“बालविवाह एउटा ठूलो समस्या बनिरहेको अवस्थामा सडक नाटकमार्फत न्यूनीकरण गर्ने अभियान थालेका हौँ”, गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले भन्नुभयो । उहाँका अनुसार अभियानलाई आवश्यकतानुसार निरन्तरता दिने योजना बनाइएको छ ।

उक्त गाउँपालिकामा बालविवाहको यकिन तथ्याङ्क नभए पनि ठूलो समस्याका रूपमा रहेकाले योजनाबद्धरूपमा यसको न्यूनीकरण गर्दै बालविवाह रोक्नेसम्मको उद्देश्य राखिएको थिङले बताउनुभयो ।

उहाँले भन्नुभयो, “नाटकमा सानै उमेरमा विवाह गर्दा घर–व्यवहार र शारीरिकरूपमा पर्ने समस्याबारे अभियान गरिएको छ ।” उक्त गाउँपालिकामा विशेषगरी अधिकांश तामाङ समुदायको बसोबास रहेको छ ।

केही महिनाअघि काभ्रेपलाञ्चोकको प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले जिल्लाको दक्षिणी भेगस्थित डाँडापारि क्षेत्रमा पर्ने खानीखोला र महाभारत गाउँपालिकाको भ्रमण गर्ने क्रममा बालविवाहका घटना भइरहेको पाइएको बताउनुभएको थियो ।

“हामीले त्यस क्षेत्रको भ्रमणका क्रममा विद्यालयमा कक्षा ७ सम्म विद्यार्थीको सङ्ख्या राम्रो नै हुने तर कक्षा ८ मा पुगेपछि बर्सेनि विद्यार्थीको सङ्ख्या न्यून हुने कारण खोज्दा बालविवाह रहेको पाएका थियौँ, अहिले न्यूनीकरणका लागि अभियान चलाइएकामा खुसी लागेको छ”, जोशीले भन्नुभयो ।

जोशी जिल्लाका केही स्थानमा बालविवाह भइरहेको अनौपचारिक जानकारी प्राप्त भए पनि त्यसविरुद्ध कुनै उजुरी नपरेको बताउनुहुन्छ । उहाँले तत् क्षेत्रमा बालविवाह रोक्न सबै सरोकारवाला निकायबीच सहकार्य गर्न आग्रह गरेको बताउनुभयो ।

बितेका एक वर्षमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१ स्थित एक विद्यालयमा अध्ययनरत सात विद्यार्थीले विवाह गरेका थिए । विद्यालयमा अध्ययनकै क्रममा विवाह गर्ने उनीहरुको ‘उमेर’ पुगेको थिएन ।

देवीस्थान माध्यमिक विद्यालयमा अध्ययनरत पाँच छात्रा र दुई छात्रले उमेर नपुग्दै विवाह गरेका हुन् ।

जिल्ला सदरमुकाम धुलिखेलमा अवस्थित उक्त विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत ती विद्यार्थीमध्ये केहीले आफूखुसी तथा केहीलाई अभिभावकले उमेर नपुग्दै विवाह गरिदिएको घटनाक्रमले देखाएको छ । अघिल्लो वर्ष सोही विद्यालयमा अध्ययनरत दुई विद्यार्थीले ‘बालविवाह’ गरेको शिक्षक नै बताउनुहुन्छ ।

शैक्षिकसत्र २०७८ मा स्थानीय देवीस्थान माविका सात विद्यार्थी ‘बालविवाह’ गरेको धुलिखेल–१ वडाध्यक्ष सन्तबहादुर तामाङले बताउनुभयो । उहाँका अनुसार स्कुल अध्ययनकै क्रममा विवाह गरेका बालबालिकाविरुद्ध भने हालसम्म कुनै निकायमा उजुरी परेन । उहाँ बस्तीमा बालविवाह रोक्न अभिभावक, विद्यालय प्रशासन, स्थानीय सरकार तथा सम्बन्धित निकाय सबैको ध्यान जानुपर्ने बताउनुहुन्छ ।

“म निर्वाचित भएपछि आफ्नो वडाको वार्षिक योजनामा बालविवाह रोक्ने विभिन्न कार्यक्रम समावेश गरेको छु”, उहाँले भन्नुभयो । वडाध्यक्ष तामाङले बालविवाहको प्रकृति हेर्दा विद्यालयको एउटै कक्षामा अध्ययन गर्ने छात्र र छात्राबीच कुराकानी, सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालमा कुराकानी हुने र त्यसकै कारणबाट बालावस्थामै विवाह हुने गरेको पाइएको बताउनुभयो ।

विद्यालयका शिक्षक रामेश्वर पौडेलले उमेर नपुग्दै विवाह गरेकामध्ये केही विद्यार्थीले विद्यालय आउन छाडेका छन् भने केही विद्यालयमा अध्ययनका लागि आइरहेको बताउनुभयो । उहाँका अनुसार चालु शैक्षिकसत्रको एक महिनामा भने कुनै विद्यार्थीले उमेर नपुग्दै विवाह गरेका छैनन् ।

वडाध्यक्ष तामाङले वडाकै योजनाअनुसार बालविवाह रोक्न अभिभावक र विद्यालयका शिक्षकसँग अन्तक्र्रिया गरी बालविवाहबाट पर्ने प्रभावबारेमा जानकारी दिइने बताउनुभयो । “यस्तो घटना न्यूनीकरणका लागि घरमा अभिभावक र विद्यालयमा शिक्षकले विद्यार्थीको चालचलनसमेत बुझ्नुपर्ने हुन्छ, हामी सबै तरिका अपनाई बालविवाहजस्तो गम्भीर समस्या सुल्झाउन लाग्नेछौँ”, तामाङले भन्नुभयो ।

जिल्ला सदरमुकाम तथा बालमैत्री नगर घोषणा गरिएको स्थानमै बालविवाहजस्ता घटना भइरहँदा गम्भीर समस्या निम्तिँदै गएको देखिन्छ । धुलिखेल नगर महिला तथा बालबालिका शाखाको पूजा काफ्लेले नगरमा चेतनामूलक कार्यक्रम गरिरहेको बताउनहुन्छ ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बालविवाहविरुद्ध उजुरी नपरेसम्म केही गर्न नसकिने बताउनुहुन्छ । “विशेषगरी स्थानीय तहले बालविवाहविरुद्धका गतिविधि सञ्चालन गर्नुपर्ने हो, हामीले उजुरी नआएको हकमा प्रहरीसँग मिलेर सचेतनाबाहेक केही गर्न सक्दैनौँ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर