युवराज बडुवाल /बाजुरामा भुवा पर्व सुरु भएको छ । प्रत्येक वर्ष पौषे औंसीको अघिल्लो दिनदेखि सुरु हुने भुवा पर्व सुदूरपश्चिमका सबै जिल्लामा मनाइने गरीन्छ ।
जिल्लाकाे सदरमुकाम मार्तडी, जुगाडा, पाण्डुसैन, बम्रतोला, कैलाशमाडौ,काेर्ध कुल्देवमाण्डौँ लगायत ठाउँमा यो पर्व विषेशरुपमा मनाइन्छ । रातभर मुढा सल्काएर आगो बालेपछि देउडा, भारीखेल, भोस्सो खेल्ने चलन रहेकाे छ । यो पर्व ३ देखि ५ दिन सम्म मनाइन्छ । घरको जेठो छोरो जन्मेको एक वर्ष पुरा भएपछि छैट माग्ने चलन पनि छ ।
छैटमा घरको आँगनमा भगवान श्रीकृष्णको गाथा गाउने, बच्चालाई गाउँका ठूलाबाडा मान्यजनले आर्शिबाद दिने र भोज खुवाउने चलन यस पर्वको अर्को विशेषता हो । यसमा हरिनु खेल्ने चलन पनि छ । स्थानीयबासीका अनुसार हरिनु भनेको मुकुट लगाई श्रृङगार गरी कसैलाई बाघ, चित्तल, हरिण बनाई बाजागाजाका साथ घुमाउने र रमाइलो गर्ने चलन छ ।
सुदूरपश्चिममा दशैँपछिको दोस्रो ठूलो पर्व हो । त्रेतायुगमा पाण्डव र कौरबबीचको लडार्इँ सकिएपछि पाण्डवपक्षले खुसियाली मनाएको दिनका रुपमा यो पर्व मनाउने चलन रहेकाे स्थानिले बताएका छन् ।







