बाजुरा / जिल्लाकाे सदरमुकाम मार्तडीमा बसपार्क नहुँदा पार्किङको समस्या भएको छ ।
बडीमालिका नगरपालिका वडा नम्बर ८ पाल्तमा बसपार्क बन्न लागेको झण्डै तीन वर्ष पुरा भएता पनि अझै सम्म बसपार्क निर्माणको काम सम्पन्न भएको छैन् ।
अझैँ बसपार्क निर्माणको काम नहुँदा तलबाट आउने लामो दुरीका सवारी साधन पार्किङ गर्न समस्या भएकाले मार्तडीको तुफानडाँडादेखि कारागारसम्मको झण्डै पाँच सय मिटर सडक छेउमै बस पार्किङ गर्दै आएको यातायात समिति बाजुराले बताएकाे छ ।
सडक कालोपत्रे भएसँगै बाजुराको सदरमुकाम मार्तडीको कागागारसम्म गाडी पुगे पनि बसपार्क नहुँदा पार्किङको समस्या भएको पवनदुत बस यातायात समितिका काउन्टर इन्चार्ज सन्तोष डँडालले बताउनु भएकाे छ । उहाँले, मार्तडीमा सडक पुगेर केही सजिलो भए पनि सवारी साधन राख्न पार्किङ नहुँदा समस्या भएको बताउनुभयो ।
काठमाडौं, नेपालगञ्ज, महेन्द्रनगर धनगढी, अत्तरियाबाट आउने सवारी साधन सडकको छेउमै राख्नुपर्छ, डँडालले भन्नुभयो, “यसले गर्दा बाजुराका स्थानीयवासीले दुर्घटनाको जोखिम मोल्नु पर्ने अवस्था छ ।’
पवनदुत, यातायात, पवनदुत महेन्द्रनगर, महाकाली, सुप, कर्णाली, मालिका, जयमालिका, खप्तड मालिका, सुदूरपश्चिम यातायातका दुई दर्जन भन्दा बढी गाडी मार्तडीमा सञ्चालन आएका छन् ।
बडीमालिका नगरपालिका प्रमुख अम्मर खड्काले पाल्तमा अघिल्लो नगरकमिटीले बसपार्क निर्माण गरेको छ । तर त्यसमा गाडी सबै नअट्ने भएकाले त्यसलाई कोल्टीसम्म चल्ने जिपहरूका लागि बसपार्क बनाउने र स्थायीरुपमा बाउलीमा बसपार्क निर्माण गर्ने बताउनुभयो ।
उहाँले, अन्य ठूला सवारी साधनका लागि चाँडै नै जमिन खरिद गरी स्थायी रूपमा बसपार्कको निर्माण गर्ने बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी गिन्द्रबहादुर बोगटीले बसपार्क नहुँदा हामीलाई सवारीसाधन व्यवस्थापनमा निकै समस्या भएको बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय बाजुराका सूचना अधिकारी लोकेन्द्रबहादुर विष्टले अहिले अधिकांश यातायातका सवारी सधान सडकको छेउछाउमै पार्किङ गरिरहेकाले बस व्यवस्थापन समितिलाई व्यवस्थापन गर्न निर्देशन दिएको बताउनुभयो ।





