युनिकोड    राशिफल    एफएम रेडियाे                        

सुदूरपश्चिम प्रदेशभर महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेकै अवस्थामा बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ सौलोडाकी माया लुहारको हत्या भयो। प्रेममा धोका पाएपछि हत्या गरेको सशस्त्र प्रहरीका जवान भरतराम कोलीले प्रहरीलाई बयान दिए। २१ वर्षीया माया मंसिर १४ गते मृत फेला परेकी थिइन्। मायाको हत्या गरेको आरोपमा कोलीलाई प्रहरीले पक्राउ गरिसकेको छ।

बैतडीको शिवनाथ गाउँपालिका वडा नम्बर ४ घर भएका भरतराम प्रेमिकाको हत्यापछि भागेर महेन्द्रनगर पुगेका थिए। यो त केबल प्रतिनिधि उदाहरण मात्र हो। महिलामाथि हुने यस्ता जघन्य अपराधको ग्राफ सुदूरपश्चिम प्रदेशभित्र डरलाग्दो रुपमा बढ्दो छ। साढे चार वर्षको अवधिमा ११ हजारभन्दा बढि महिलाहरु हिंसाको सिकार बनेको प्रहरी अभिलेख छ। महिला अधिकारको क्षेत्रमा काम गर्ने संघसंस्था दर्जनौँको संख्यामा खुलेपनि महिलामाथि हुने हिंसा रोकिएको छैन्।

विगतको भन्दा पछिल्ला वर्षहरुमा हिंसामा परेका महिलाहरु खुल्न थालेको ओरेक नेपाल कैलालीकी संयोजक विनु रानाले बताइन्। ‘महिलामाथि हुने हिंसा कायमै छ, कानुन भएपनि कार्यान्वयन पक्ष एकदमै कमजोर भइदिँदा न्युनिकरण गर्न समस्या भइरहेको छ। ओरेक नेपाल कैलालीको मात्र तथ्यांक हेर्ने हो भने हरेक वर्ष यस्ता घटना बढ्दै गएको देखिन्छ।’ उनले भनिन्।

आर्थिक वर्ष २०७४/७५ देखि चालू आर्थिक वर्षको असोज मसान्तसम्म मात्र सुदूरपश्चिममा ६ हजार ५९३ महिला हिंसाका घटना भएको प्रहरी अभिलेख छ। घरेलु हिंसाका घटना पनि सुदूरपश्चिममा चार हजार ७२८ रहेको प्रहरी अभिलेखले देखाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर