युनिकोड    राशिफल    एफएम रेडियाे                        

विगत १८ वर्षदेखि अष्ट्रेलियाको सिड्नीमा मानसिक रोग विशेषज्ञका रुपमा कार्यरत डा.घनश्याम चापागाईले कलिलै उमेरमा आफ्नो सन्तानलाई अष्ट्रेलिया नपठाउन सुझाव दिनु भएको छ । उहाँले १२ कक्षा पास गरेको कलिलै उमेरमा अष्ट्रेलिया जाँदा मानसिक रोगको समस्या देखिने गरेको बताउनु भएको हो । उहाँले कम्तीमा स्नातक उत्तीर्ण भएपछि मात्रै अष्ट्रेलिया पठाउन आग्रह समेत गर्नुभयो ।

नेपालको पाटन अस्पताल र नेपाल मेडिकल कलेजमा दुई दुई वर्ष मनोरोग विशेषज्ञको रुपमा काम गरेर डा. चापागाई अष्ट्रेलिया जानु भएको हो । उहाँ अहिले सिड्नीको केलिभिल स्थित हिल्स क्लिनिक (मानसिक रोग अस्पताल) मा कार्यरत हुनुहुन्छ । त्यहाँको मेडिकल स्टाफ काउन्सिल प्रेसिडेण्ट (मेडिकल सुपरिटेण्डेण्ट) का रुपमा कार्यरत चापागाईको भनाईमा पछिल्ला वर्षहरुमा विद्यार्थीहरु धेरै मनोरोगका कारण ग्रसित हुने गरेका छन् । आफूले दैनिक हेर्ने २१ जना बिरामी मध्ये ३ जना हाराहारी नेपाली हुने गरेको उहाँले बताउनुभयो । जसमध्ये धेरै कलिलो उमेरका विद्यार्थीहरु हुने गरेका छन् ।

उदासिनता, दिक्क लाग्ने, आत्तीने जस्ता डिप्रेसनका समस्या लिएर धेरै आउने गरेको भन्दै उहाँले भन्नुभयो “कोही कडा खालको मानसिक रोग लिएर पनि आउँछन् ।” त्यहाँको वास्तविक अवस्था नबुझी पुगेका विद्यार्थीहरु अपेक्षा अनुसार काम नभएपछि उदासिन हुने र डिप्रेसनमा जाने गरेको उहाँको भनाई छ । उहाँले भन्नुभयो “आफ्ना छोराछोरीलाई विदेश पठाउनु अघि त्यहाँको सम्भावनाका बारेमा अभिभावकले बुझ्नु जरुरी छ ।”

१२ कक्षा पास गरेर जाने विद्यार्थीमा बढी समस्या हुने गरेको भन्दै उहाँले कम्तीमा स्नातक उत्तीर्ण गरेर मात्रै अष्ट्रेलिया पठाउन अनुरोध गर्नुभयो । उपचारका लागि आउने एक तिहाई विद्यार्थी हुने गरेको भन्दै १८–२० वर्षको उमेरमा परिवारबाट अलग भएर आफ्नो र परिवारको दोहोरो बोझ बोक्नु पर्दा उनीहरुलाई कठिन हुने गरेको डा.चापागाई बताउनुहुन्छ ।

उहाँले भन्नुभयो “अभिभावकले बुझ्नु प¥यो, कलेजको शुल्क पनि तिर्नुप¥यो, आफू जाँदा लिएको ऋण पनि तिर्नुप¥यो, ती कुरा धान्न नसक्दा विद्यार्थीमा मानसिक समस्या पर्ने गरेको छ ।” कतिपय अभिभावकले आफ्ना छोराछोरीलाई सुधार्नका लागि अष्ट्रेलिया पठाउने गरेको भन्दै उहाँले नेपालमा कुलतमा फसेकाहरुलाई बाहिर पठाउँदा सुध्रनको सट्टामा झन् बिग्रने गरेको बताउनुभयो । नेपालमा हुँदा परिवारको रेखदेखबाट समेत नसुध्रिएकाहरु बाहिर एक्लो जीवनमा सुध्रिन सम्भव नहुने भएकाले यस्तो गल्ती नगर्न उहाँले सुझाव दिनुभयो ।

मानसिक रोगीहरुमा निन्द्रा नलाग्ने समस्या बढेसँगै मदिरा र लागुऔषध प्रयोग गर्दा थप जडिलता देखिने गरेको उहाँ बताउनुहुन्छ । कतिपय पहिलेदेखि नै अष्ट्रेलिया रहेकाहरुमा पनि मानसिक समस्या आउने गरेको उहाँले जानकारी दिनुभयो । छोराछोरी हुर्किएर परिवार छोडेर काममा लागेपछि बाबुआमामा एक्लोपनासँगै दिक्क लाग्ने जस्ता समस्या लिएर आउने गरेको उहाँ बताउनुहुन्छ । मनोरोगीहरु मध्ये एक प्रतिशत कडाखालको समस्या लिएर आउने गरेको डा. चापागाईको भनाई छ ।

पढ्न जाने विद्यार्थीहरुले आफ्नो कलेजका बारेमा राम्ररी बुझेर पूर्व तयारीका साथ जानुपर्ने उहाँ बताउनुहुन्छ । यसरी समस्या देखिनेहरुमा धेरै महिला हुने गरेका छन् । आत्महत्या गर्नेहरु पुरुष बढी हुने भएपनि आत्महत्याको प्रयास गर्नेमा महिला बढी रहेको उहाँले जानकारी दिनुभयो ।

अष्ट्रेलियाको सिड्नीको एउटा अस्पतालको अवस्थालाई चित्रण गर्दै उहाँले सिंगो अष्ट्रेलिया र अन्य यस्तै देशहरुमा यही खालका समस्या हुने भएकाले उच्च सावधानी अपनाउन र बुझेर मात्रै आफ्ना सन्तानलाई विदेश पढ्न पठाउन सुझाव दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर