धनगढी / जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा निषेधाज्ञा जारी रहेको छ। बिहीबार साँझ ७ बजेदेखि शुक्रबार साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो। जिल्ला प्रशासन कार्यालय कैलालीले २४ घण्टाका लागि धनगढीलाई निषेधित क्षेत्र घोषणा गरिएको बताए।
धनगढीमा ग्रेडरले कुल्चिएर पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत अन्दाजी १४ वर्षीया छात्रा चेतना साउँदको मृत्य भएपछि तनाव भएको थियो। विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन्। विद्यार्थीहरुले आन्दोलन गर्दै धनगढी–स्याउले सडक अवरुद्ध गरेका थिए, भने जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन्। उनीहरुले सडकमा टायर जलाउँदै प्रदर्शन गरेका हुन्।
आज बिहान धनगढी उपमहानगरपालिका–५ तारानगरकी चेतना साउँदको हसनपुर पिपलचौतारा नजिक पानीपिच गरिरहेको ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले लेबल मिलाउँदै ब्याक गर्ने क्रममा कुल्चिएर मृत्यु भएको थियो। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। साउँदको शव सेती प्रादेशिक अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले बताए।
चार किल्ला :– पूर्वमा धनगढी उपमहानगरपालिका–१ पुरानो फूलवारी बसपार्क (पुष्पलाल चोक)
पश्चिममा धनगढी उपमहानगरपालिका–४ रातोपुल
उत्तरमा धनगढी उपमहानगरपालिका–५ सामुदायिक प्रहरी सेवा केन्द्रको भवन
दक्षिणमा धनगढी उपमहानगरपालिका–१ र २ स्थित हुलाकी राजमार्ग
मिति र समयः– मिति २०७९/०८/१५ गते बेलुका ७ः०० बजेदेखि
मिति २०७९/०८/१६ गते बेलुका ७ः०० बजेसम्म





