शिशु जन्मिनासाथ खोप लगाउनुपर्छ । एउटा निश्चित उमेरभित्र विभिन्न खोप लगाइसक्नुपर्छ । यसले उनीहरुलाई सम्भावित रोगको जोखिमबाट बचाउँछ ।
राष्ट्रिय खोप कार्यक्रम अन्र्तगत अहिले नेपालमा १५ महिनामुनिका बालबालिकालाई निःशुल्क खोप लगाइने गरिएको छ । खासगरी क्षयरोग, भ्यागुतेरोग, लहरेखोकी, धनुष्टंकार, हेपटाइटिस बी, हेमोफिलस इन्फ्लुएन्जा बी, पोलियो, दादुरा, रुबेला, न्युमोकोकस र जापानिज इन्सेफलाइटिस विरुद्धको खोप लगाइन्छ ।
जन्मिनेबित्तिकै बीसीजी
जन्मिनेबित्तिकै शिशुलाई बीसीजी खोप लगाउनुपर्छ । अस्पतालमा जन्मिएका बालबालिकालाई यो खोप त्यहीं लगाइन्छ । साथै यो प्रत्येक स्वास्थ्य केन्द्र र खोप केन्द्रमा पनि उपलब्ध हुन्छ । यसको लागि शुल्क लाग्दैन, सरकारले निःशुल्क वितरण गर्छ ।
बीसीजी खोपले शिशुलाई क्षयरोगबाट बचाउने काम गर्छ ।
१५ महिनासम्म कुन-कुन खोप दिने
त्यसपछि शिशुलाई ४-४ हप्ताको फरकमा डीपीटी र हेपाटाइटिस बीविरुद्धको खोप दिनुपर्छ । यो खोप ६, १० र १४ हप्ताको उमेरमा लगाइन्छ । यो तीन पटक लगाउनुपर्छ । यसले भ्यागुते रोग, लहरे खोकी, धनुष्टंकार, हेपाटाइटिस बी, हेमाफिलस बीबाट हुने मेनिन्जाइटिस र निमोनियाबाट जोगाउँछ ।
त्यससँगै पोलियोको खोप ६, १० र १४ हप्ताको उमेरमा लगाइन्छ । यो तीन पटक दिइन्छ । यसले पोलियोमाइलाइटिसबाट जोगाउँछ । शिशु ६ हप्ता र १४ हप्ता भएपछि एफआईपीभी पनि दिइन्छ । दुई पटक दिनुपर्ने यो खोपले रोटा भाइरसद्वारा हुने पखालाविरुद्ध काम गर्छ ।
६ हप्ता, १० हप्ता र ९ महिनामा पीसीभी खोप लगाइन्छ । यो तीन पटक दिइन्छ, यसले न्युमोकोकसबाट हुने मेनिजाइटिस र निमोनियाबाट बचाउँछ ।
९ महिना र १५ महिनाको उमेरमा दादुरा-रुबेला विरुद्धको दिइन्छ । यसले दादुरा, रुबेलाबाट जोगाउँछ । १२ महिनाको उमेरमा जेई खोप दिइन्छ । यसले जापनिज इन्सेफलाइटिसबाट बचाउँछ ।
शिशु मात्र होइन, गर्भवती महिलालाई पनि टीडी दिइन्छ । यसले शिशुलाई धनुष्टंकार र भ्यागुते रोगबाट बचाउँछ ।





