धनगढी / २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनबाट नेपाली काँग्रेसले एक सिटमा मात्र जित हासिल गरेको थियो। आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट काँग्रेस सबैभन्दा ठुलो शक्ति बन्दै ७ सिट हात पार्न सफल भयो। सत्ता गठबन्धनबाट नेपाली काग्रेस र एकिकृत समाजवादीलाई लाभ पुगेको छ। माओवादी केन्द्रलाई भने धक्का लागेको छ।
२०७४ को निर्वाचनमा प्रतिनिधिसभामा ३ सिट जितेको माओवादी केन्द्र यस पटक शुन्य अर्थात निल भएको छ। माओवादी परित्याग गरेर एमाले प्रवेश गरेका लेखराज भट्ट कैलाली–४ र झपटबहादुर बोहरा अछामबाट पराजित भएका छन्। गठबन्धनको जालझेलका कारण एमाले खुम्चिनु परेको एमालेका प्रदेश अध्यक्ष एवंम नवनिर्वाचित प्रतिनिधिसभा सदस्य दामोदर भण्डारीले बताए।
कञ्चनपुर–१ र बैतडीमा मात्र नेकपा एमालेले जित हात पारेको छ। ५ निर्वाचन क्षेत्र रहेको कैलालीमा ठूला राजनीतिक दललाई पछाडी पार्दै नागरिक उन्मुक्ती पार्टीले ३ स्थान जितेको छ। कैलाली–१ कैलाली–२ र कैलाली–३ मा नागरिक उन्मुक्ति पार्टीले जित हासिल गरेको छ। कैलाली–४ मा नेकपा एमालेका सचिव लेखराज भट्टलाई पराजित गर्दै काग्रेसका वीरबहादुर बलायर र कैलाली–५ मा एमालेका नारदमुनी रानालाई पराजित गर्दै काग्रेसका डिल्लीराज पन्त विजयी भएका छन्। अघिल्लो निर्वाचनमा ३ स्थान जितेको नेकपा एमाले कैलालीमा शून्यमा झरेको छ।
एमाले प्रतिनिधिसभा सदस्यका लागि दुई र प्रदेशसभाका लागि तीन गरेर ५ सिटमा खुम्चिएको छ। ३ वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुर–१ मा माओवादी केन्द्रकी बिना मगरलाई हराउदै एमालेका तारालामा तामाङ विजयी भएका छन्। कञ्चनपुर–२ मा कांग्रेसका एनपी साउँद र कञ्चनपुर–३ मा काँग्रेसकै रमेश लेखक विजयी भएका छन्।
डडेल्धुरामा काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, बैतडीमा एमालेका दामोदर भण्डारी, दार्चुलामा काग्रेसका दिलेन्द्रप्रसाद बडु, डोटीमा एकिकृत समाजवादीका प्रेम आले, अछाम–१ मा समाजवादीका शेरबहादुर कुँवर, अछाम–२ मा काग्रेसका पुष्प शाह, बझाङमा समाजवादीका भानुभक्त जोशी विजयी भएका छन्। बाजुरामा भने मतदानका दिन भएको विवादका कारण नतिजा आउन बाँकी छ। २०७४ मा काँग्रेस र राजपाका रेशमलाल चौधरीले एक/एक सिट जितेका थिए। बाँकी ११ सिट एमाले र ३ मा माओवादी केन्द्रले जितेको थियो।





