बाजुरा: बाजुरामा ३४ हजारबढि नागरिकले गरे स्वास्थ्य बीमा गरेका छन् । स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिमका अनुसार बाजुरामा ३४ हजार ५८९, नागरिकले स्वास्थ्य बिमा गराएका छन् । गरीब तथा विपन्न नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउनका लागि सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्न थालेको छ । हालसम्म बाजुरासहित सुदूरपश्चिम प्रदेशका ५ लाख ४२ हजार ३७३ बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध भइसकेका छन् ।
गत आर्थिक वर्षमा तीन लाख ५७ हजार ६५ ले स्वास्थ्य बीमा गराएका थिए भने आर्थिक वर्ष २०७८र७९ मा ३ लाख ५० हजार ५८२ जनाले स्वास्थ्य बीमा गराएका थिए। सुदूरपश्चिममा स्वास्थ्य बीमा कार्यक्रममा समावेश हुनेको संख्या क्रमशः बढिरहेको स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिमले जनाएको छ।
गत आर्थिक वर्षभन्दा यो वर्ष स्वास्थ्य बीमामा आवद्ध हुनेको संख्या १ लाख ८५ हजारले बढेको छ । स्वास्थ्य बीमा गराउनेको संख्या सबैभन्दा बढी कैलालीमा २ लाख ८० हजार ९५७ पुगेको छ भने कञ्चनापुरमा ५९ हजार ५२ तथा अछाममा ५५ हजार ४८३ ले स्वास्थ्य बीमा गराएका छन्। त्यस्तै बझाङमा ३९ हजार ९७३, बाजुरामा ३४ हजार ५८९, बैतडीमा २३ हजार ८५८, डडेल्धुरामा १९ हजार ९१०, डोटीमा १६ हजार ३५५, र दार्चुलामा १२ हजार १९६ जनाले स्वास्थ्य बीमा गराएका छन्।
पुराना बिमित मध्ये करिब ८५ प्रतिशत भन्दा बढीले स्वास्थ्य बीमा नवीकरण गर्ने गरेको प्रमुख रमेन्द्रप्रसाद कुश्वाहले बताए। स्वास्थ्य बीमा गराए बिरामी हुँदा सरकारी स्वास्थ्य संस्थामा उपचार गराउँदा बीमा बोर्डले उपचारमा लागेको खर्च व्यहोर्ने गर्छ। स्वास्थ्य बीमामा सहभागी हुन पाँच जना सदस्य भएको परिवारले वार्षिक ३ हजर ५ सय प्रिमियम तिर्नुपर्छ भने पाँच जनाभन्दा बढी सदस्य भए एक सदस्य बराबर थप सात सयका दरले वार्षिक प्रिमियम बुझाउनुपर्छ।
बिमित परिवारका सदस्य बिरामी हुँदा एक लाख बराबरको उपचार शुल्क स्वास्थ्य बीमा बोर्डले अस्पतालहरूलाई भुक्तानी गर्छ। सरकारी अस्पतालमा उपचार सेवा सहज हुन लागेकाले सर्वसाधारणको स्वास्थ्य बीमामा आकर्षण बढ्न थालेको कुश्वाहले बताए। ‘अहिले स्वास्थ्य बीमा गर्न सरसाधारणमा रुचि बढेको छ। अस्पतालहरूमा उपचार पाउन सहज हुन थालेकाले बिमा गराउनेको संख्या बढ्न थालेको स्वास्थ्य बीमा बोर्ड कार्यालय सुदूरपश्चिम प्रदेशले जनाएको छ।





