काठमाडौं : राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध लागेको बलात्कार अभियोगमा अहिले जिल्ला अदालत, काठमाडौंमा थुनछेक बहस चलिरहेको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले दर्ता गरेको अभियोगपत्रमाथि मंगलबरदेखि सन्दीप पक्षका कानुन व्यवसायीले बहस गरिरहेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका आधारमा सरकारी वकिलले लामिछानेले नाबालिगलाई बलात्कार गरेको पुष्टि भएको जिकिर गर्दै १० देखि १२ वर्ष जेल सजाय हुनपर्ने मागदाबी प्रस्तुत गरेको थियो ।
तर सन्दीप पक्षका वकिलहरु लामिछानेविरुद्ध लागेको अभियोगको जवाफ दिनभन्दा पनि पीडितको उमेरमाथि प्रश्न गर्न केन्द्रित भएका छन् । न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा बिहीबार वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले पीडित नाबालिका नै नभएको दाबी प्रस्तुत गरे ।
‘उनको विद्यालयमा पेश गरेको कागजात र विवरण जन्ममिति २०६१/०२/१८ छ, २०७३ सालमा परिवार बसाइँसराइँ गरेर काठमाडौं आउँदाको कागजमा पनि २०६१ साल नै छ’, श्रेष्ठले भने, ‘तर, पछि फेरि गाउँमा गएर उमेर घटाएर अर्को जन्मदर्ता बनाइएको देखिएको छ ।’ यससम्बन्धी कागजात पनि अदालतमा पेश गरिएको उनले अनलाइनखबरलाई बताए ।





