काठमाडौं । हरिवंश आचार्य स्टारर फिल्म ‘महापुरुष’ले घरेलु बक्सअफिसमा १ करोड रुपैयाँ ग्रस हारहारीमा ‘ओपनिङ’ गरेको छ । शुक्रबार यो फिल्म नेपालसहित अष्ट्रेलिया र अमेरिकामा पनि रिलिज भएको थियो ।
नेपालका एकसय १२ हलबाट प्रदर्शनमा आएको फिल्मले बिहानैदेखि काठमाडौं उपत्यकासहित मोफसलका ठूला सहरमा ७० देखि शतप्रतिशत अकुपेन्सीको ओपनिङ गर्यो ।
फिल्मको ओपनिङमा ६५ प्रतिशत काठमाडौं र बाँकी मोफसल टोरिटोरीको योगदान देखिन्छ । यद्यपी, कलेक्सनको अन्तिम आँकडा आउन बाँकी छ । काठमाडौं, भक्तपुर र ललितपुरस्थित मल्टिप्लेक्सहरु (ए र बी वर्गका समेत) दुबै हाउसफूल रहे ।
चितवन, पोखरा, बुटवल, इटहरी लगायतका मोफसलका ठूला सहरहरु समेत महापुरुषमय बने । फिल्मले दर्शकबाट सकारात्मक वर्ड अफ माउथ प्राप्त गरेको छ र यसको फाइदा आगामी साताभरि नै देखिनेछ ।
पहिलो दिन एक करोड ओपनिङ गरेको फिल्मले दोस्रो दिन शनिबार स्वभाविकरुपमा त्यो भन्दा बढी कमाइ गर्नेछ । यो ट्रेन्ड हेर्दा आइतबारसम्मको सार्वजनिक बिदाको अवधिभर फिल्मको पहिलो सप्ताहन्तको कमाइ ५ करोड आसपास हुने प्रक्षेपण छ ।
‘महापुरुष’को सकारात्मक पक्ष के हो भने यो फिल्म बक्सअफिसमै लामै समय चल्ने देखिन्छ । ‘वर्ड अफ माउथ’ सकारात्मक भएकाले यसको स्थिर कमाइ पहिलो र दोस्रो सप्ताहन्तसम्म स्पष्ट देखिनेछ ।






